पाल्पाको तिनाउ गाउँपालिकाले मंगलबार साँझ भएको दुर्घटनाका पीडित परिवारलाई राहत दिने भएको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले वडा नम्बर ६ शिखरडाँडामा भएको जीप दुर्घटनाका मृतकका परिवारलाई राहत स्वरूप ३५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए।
त्यस्तै गाउँपालिकामा आज (बुधबार) शोक बिदा दिने निर्णय भएको पनि उनले बताए।
‘तिनाउ गाउँपालिकामा पछिल्लो समयको यो सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो। हामी शोकमा छौं, त्यसैले गाउँपालिकाभरिका विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयहरूमा बिदा दिने निर्णय गरेका छौं,’ श्रेष्ठले भने।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्बन्धित सरोकारवालाहरूलाई घाइतेहरूको उपचारमा पर्याप्त ध्यान दिन आग्रह गर्ने र उपचारका लागि कमी हुन नदिने, बिमा कम्पनी र यातायात व्यवसायी समिति सँग पहल गर्ने निर्णय गरिएको श्रेष्ठको भनाइ छ।
श्रेष्ठले क्षमताभन्दा बढी यात्रु नबोक्न र सिट क्षमता भन्दा बढी भएको अवस्थामा कुनै पनि सवारी साधनमा यात्रा नगर्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको पनि जानकारी दिए।
मंगलवार साँझ पौने ५ बजे तिनाउ गाउँपालिकाको डुम्रेबाट वडा नं ६ शिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप चिदिस भन्ने ठाउमा दुर्घटना हुँदा १० जना यात्रुको ज्यान गएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।