दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी गम्भीर घाइते भएकी छन्।
प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको छ।
गम्भीर घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँ लगिएको थियो। त्यहाँबाट लमही अस्पतालमा पुर्याउनासाथ बेलुकी ४ बजेर ५५ मिनेट जाँदा बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए। साइकल बस्नेतले चलाएकी थिइन्।
सोही साइकलको पछाडि सवार राप्ती गाउँपालिका–८ पिपरीकी १६ वर्षीया विपना केसी गम्भीर घाइते भएकी छन्। दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको डिएसपी मल्लले बताए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।