लुम्विनी प्रादेशिक अस्पतालले बिहीबारदेखि क्याथल्याब सेवा सुरू गरेको छ।
करिब डेढ वर्षअघि ६ करोड रूपैयाँभन्दा बढी खर्च गरेर जडान गरेको क्याथल्याब सेवा बिहीबारदेखि बल्ल सुरू भएको हो।
क्याथल्याब सेवाका लागि सम्पूर्ण उपकरण जडान भइसक्दा पनि लामो समय सेवा सञ्चालन हुन नसक्दा मुटुरोगका बिरामीले सेवा पाउन सकेका थिएनन्।
लुम्बिनी प्रदेशमै सबभन्दा धेरै बिरामीको पहुँच रहेको अस्पतालको रूपमा चिनिने लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरू भएपछि गरिब, विपन्न तथा चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न नसक्ने मुटुका बिरामीलाई राहत हुने भएको छ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवा सुरू भएसँगै बिहीबार एकै दिन दुईजना बिरामीको मुटुको एन्जियोग्राम गरिएको बताए।
अस्पतालले पहिलो दिन गुल्मीका ७५ वर्षीय एक पुरूष र गुल्मीकै ७२ वर्षीया एक महिलाको सफलतापूर्वक एन्जियोग्राम गरेको डा. थापाले बताए।
डा. थापाका अनुसार मुटुरोग विशेषज्ञहरू डा. अर्जुन बुढाथोकी र डा. रोशन घिमिरेका साथै फिजिसियन डा. सुदर्शन थापा, एनेस्थेसिया डा. सुरेन्द्र कुवँर, डा. समीर आचार्य लगायत रेडियोलोजी टेक्निसियन र नर्सिङ स्टाफको टिमले क्याथल्याब सेवा प्रदान गरेको हो।
अस्पतालमा दुई जना मुटुरोग विशेषज्ञले दैनिक ६० जना बिरामी परीक्षण तथा उपचार गर्दै आएको डा. थापाले बताए।
मुटुको समस्या लिएर अस्पताल आउने सरदर १२ प्रतिशत बिरामीमा एन्जियोप्लास्टी वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिने गरेको उनले बताए।
'मुटुको समस्या लिएर यहाँ आउने बिरामी अब एन्जियोग्राम वा एन्जियोप्लास्टी गर्न बाहिर जानुपर्दैन,' डा. थापाले भने।
सेवा सञ्चालन गरे पनि अस्पतालमा जनशक्ति भने अभाव रहेको उनले बताए।
यसअघि बुटवलमा समुदायले सञ्चालन गर्दै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्रै क्याथल्याब सेवा सञ्चालनमा थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सेवा थपिएपछि एन्जियोग्राम र एन्जियोप्लास्टी गर्न बाहिर जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य भएको छ।