पाटनको च्यासलबाट चोरी भई अमेरिका पुगेर फर्केको उमामहेश्वरको मूर्ति यथास्थानमा पुनः स्थापना गरिएको छ।
केही साताअघि नेपाल फिर्ता आएको यो मूर्ति च्यासल हितिमा बिहीबार पुनः स्थापना गरिएको हो।
दुई साताअघि अमेरिकास्थित नेवाः गुठीले यो मूर्तिसहित दोलखाको दुइटा भैरवका मूर्ति र भक्तपुर हनुमानघाटको दुर्गाको मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेको थियो। त्यसपछि दोलखाको मूर्ति छाउनीको राष्ट्रिय संग्रहालय, च्यासलको पाटन संग्रहालय र भक्तपुरको मूर्ति भक्तपुर संग्रहालयमा राखिएको थियो।
पाटनको मूर्तिलाई बिहीबार संग्रहालयमा पूजाआजा गरेपछि खटमा राखेर बाजागाजासहित नगर परिक्रमा गराइयो। त्यसपछि च्यासल हितिमा ल्याई क्षमापूजा गरेर स्थापना गरिएको हो।
च्यासलको उमामहेश्वरको मूर्ति करिब ५० वर्षअघि चोरी भएर अमेरिकाको ब्रुकलिन म्युजियम पुगेको थियो। म्युजियमलाई यो मूर्ति बेन र रोस्लिन सेप्स नामका व्यक्तिले सन् १९९१ मा उपहार स्वरूप दिएका थिए। त्यसमा भएको अभिलेखले यो मूर्ति नेपालको हो भनेर प्रमाणित हुन्थ्यो।
अभिलेखमा मूर्तिबारे भन्दा पनि मूर्ति राखिएको फल्चा (पाटी) बनाउने मान्छेको विवरण छ।
त्यसमा लेखिएको छ, 'सन् १८८८ (नेपाल सम्बत ७०९) मा काठमाडौं ओमबहालका गोपाल भारोले यो फल्चा निर्माण गरेका थिए।'
मूर्तिबारे यति विवरण पत्ता लागिसकेपछि नेपालका मूर्ति फिर्ता ल्याउन पहल गरिरहेको नेपाल हेरिटेज रिकभरी क्याम्पेनले यसको अनुसन्धान थाल्यो। अनुसन्धान क्रममा यो मूर्ति पाटनस्थित च्यासल हितिमा रहेको पत्ता लाग्यो।
च्यासल हितिमै खिचिएको मूर्तिको एउटा पुरानो फोटो हन्टिङटन आर्काइभमा फेला परेको थियो। त्यसअनुसार सन् १९७० मा यो मूर्तिको फोटो हन्टिङटनले खिचेको थियो।
यो मूर्ति उक्त फल्चाबाट कहिले हरायो भन्नेबारे त्यहाँका स्थानीय र सरोकार निकायले जाहेरी दिएको प्रमाण छैन। यही थियो भन्ने मानिसको स्मृतिमा भने छ। हन्टिङटनको फोटोले भने यो मूर्ति सन् १९७० पछि मात्र हराएको भन्न सकिन्छ।
उमामहेश्वरको मूर्तिसँगै यो फल्चा र हितिमा भएका अन्य मूर्ति पनि चोरिएका थिए। ती मूर्ति पनि फिर्ता आउने क्रममा छन्।


सबै तस्बिर: सौरभ थापा श्रेष्ठ