पाल्पाको ढुंगाखानी जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा लु २ ख ५६१ नं. को टिपर दुर्घटनामा परी सोही टिपरका चालक र सहचालकको मृत्यु भएको हो।
रूपन्देहीको खैरेनीबाट माथागढी वडा नं. ५ मा रहेको घामिका ढुंगा खानीतर्फ जाँदै गरेको उक्त टिपर रहबास-खैरेनी कच्ची सडकखण्डमा सोमबार बिहान ९ बजेतिर दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी टिपर चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ वस्ने २४ वर्षीय प्रदिप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले टिपर दुर्घटनामा परी चालक र सहचालक दुबै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।