विश्व सामाजिक मञ्चको १६ औं संस्करण कार्यक्रम सम्पन्न भएको छ।
'अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ देखि भृकुटीमण्डपमा सुरू भएको कार्यक्रम सोमबार सम्पन्न भएको हो।
फागुन ३ गते सांस्कृतिक झाँक्रीसहित ऐक्यबद्धता र्यालीबाट सुरू गरिएको थियो। ३० हजारभन्दा बढी सहभागीहरू एकैपटक भृकुटीमण्डप प्रवेश गरेपछि युनियनकर्मी लक्ष्मण बस्नेतले कार्यक्रम उद्घाटन गरेका थिए।
६ वटा महादेशका ९८ राष्ट्रका एक हजार चार सय बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरू भेला भएर कार्यक्रम गरिएको थियो।
उक्त कार्यक्रममा नवउदारवादी व्यवस्थाले ल्याएका सकंटहरू– युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता गहन मुद्दामा सशक्त आवाज उठाइएको छ।
उक्त कार्यक्रममा ल्याटिन अमेरिका क्युवाका राजनीतिक तथा मानवअधिकार अभियन्ता अलेदा ग्वेभेरा, भारतीय मानवअधिकारकर्मी मेधा पाटकर, राजनीतिकर्मी तथा अभियन्ता थोमस वाल्ग्रेन, किसान अधिकारकर्मी बुरी तुन्कारा गाम्बी, मानव अधिकारकर्मी ताला नासिर, अर्थशास्त्री तथा अभियन्ता जोमो कवैम सुन्दरम, दलित अधिकारकर्मी अशाके भारती, किसान अधिकारकर्मी वेन तैजुनलगायत उपस्थित थिए।
त्यस्तै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, एसिया प्यासिफिककी महासचिव शोया यशिदा पनि सहभागी थिइन्।
विश्व सामाजिक मञ्चमा १३ वटा विषयगत क्षेत्रहरू अन्तर्गत आर्थिक असमानता, लैंगिक विभेद, मानवअधिकार, जलवायु न्याय र यसका प्रभावहरू जस्ता विषय समेटेर करिब ४ सय भन्दा बढी सत्रहरू कार्यशाला, छलफल र अन्तरक्रिया भएका छन्।
उक्त कार्यक्रममा ६० वटा भन्दा बढी घोषणापत्रहरू जारी भएका छन्।
कार्यक्रमकका आयोजक तथा सहभागीहरूले अभिव्यक्तिका विभिन्न माध्यमहरू जस्तै कला, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीलगायतबाट सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य समस्या, बेरोजगारी,असमानता, हिंसा, द्धन्द्ध, युद्ध आदि विरूद्धमा सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेका छन्।
काठमाडौंबाट विश्वसम्म भन्ने नारा तय गरी सम्पन्न भएको विश्व सामाजिक मञ्चको कार्यक्रमअन्तर्गत विश्व महिला मञ्च, वर्ल्ड डिगनिटी फोरम, श्रमिक अधिकार मञ्च, किसान अधिकार मञ्च, आदिवासी जनजाती मञ्च, मानवअधिकार सभा, बालबालिका सभा जस्ता अहिलेका मूल विषय र मुद्दामा छलफल एवं बहस भएका छन्।
विश्व सामाजिक मञ्च सामाजिक अभियन्ताहरूको थलो हो। समाजमा पिँधमा रहेका महिला, युवा, किसान, दलित, श्रमिक, आदिवासी जनजाती, मधेशी, अपांगता भएका मानिसहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आदिको आवाज लिएर विश्व सामाजिक मञ्च अगाडि आएको हो।
उक्त कार्यक्रम सन् २००१ मा ब्राजिलबाट सुरू भएको थियो।