काज हेरफेर र सरूवा गर्न नपाइने भन्दै दाङको दंगीशरण गाउँपालिकाका कर्मचारी आन्दोलित बनेका छन्।
उनीहरूले दिनभर कार्यकक्ष बहिस्कार गर्दा सर्वसाधारण सेवाबाट बञ्चित हुनु परेको छ।
कर्मचारी सडकमा बसिरहँदा गाउँपालिकाको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।
पालिकाका इञ्जिनियर प्रमोद गौतमलाई लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, पालिकाको योजना शाखाका लेखनाथ आचार्यलाई पालिकाकै राजस्व शाखामा, अस्थायी करार कर्मचारी किरण पोखरेललाई न्यायिक समितिमा, महिला बालबालिका शाखाकी चन्द्रा वलीलाई पालिकाको वडा नं.४ को वडा सचिवमा, ४ नम्बरका वडा सचिव प्रमोद गिरीलाई ३ नम्बरको वडा सचिवका रूपमा र ३ नम्बरका वडा सचिव भक्तिराम पाण्डेलाई योजना शाखा प्रमुखको रूपमा जिम्मेवारी हेरफेर गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले फागुन ४ गतेदेखि लागु हुने गरी उनीहरूको काज सरूवा तथा हेरेफर गरेका थिए।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट यसअघिका पालिकाका इञ्जिनियर प्रमोद गौतमलाई हाजिर हुन भनेर पत्राचार समेत भइसकेको छ। आन्दोलनरत कर्मचारीले राजनीतिक पूर्वाग्रह राखेर सरूवा गरिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले भने कार्यसम्पादनको मूल्यांकनका आधारमा कर्मचारी हेरफेर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने हुँदा राजनीतिक पूर्वाग्रह राखियो भन्नु गलत भएको बताए।
‘काममा आलटाल गर्ने र सर्वसाधारणलाई दिनहुँ झुलाइरहने काम चोर कर्मचारीको काज हेरफेर गरिएको हो भन्ने कुरा प्रमुख प्रशासकीय अधिकृतले गर्नु भएको छ,’ पालिका अध्यक्ष गिरीले भने, ‘असल कर्मचारी खटाएको ठाउँमा जान तयार हुनैपर्छ, अब हेरफेर भएको जिम्मेवारी फेरबदल हुँदैन।’
कर्मचारीले सर्वसाधारण सेवाग्राहीको काम नगरी सडकमा बसेर दिन बिताउनु उदण्डताको पराकाष्टा मान्न सकिने अध्यक्ष गिरीले बताए।