पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन परेको छ।
मोरङको सुन्दरहरैंचामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको चारवर्षे कार्यकाल यही फागुन १८ मा सकिँदैछ।
सरकारले नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेपछि १८ जना आकांक्षीले आवेदन दिएका हुन्।
शिक्षा मन्त्री अशोक राईको संयोजकत्वमा गठित समितिले गएको माघ २३ मा विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति पाउनका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो।
सोही सूचनाबमोजिम तोकिएको अन्तिम दिन मंगलबारसम्म १८ जनाले आवेदन दिएको पूर्वाञ्चल विश्वविद्यालय स्रोतले जानकारी दिएको छ।
उपकुलपतिमा नियुक्तिका लागि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेशराज दाहाल, कला, कानुन तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. अनिलकुमार पोखरेल, इञ्जिनियरिङ संकाय डीन प्राध्यापक देवीप्रसाद भट्टराई, व्यवस्थापन संकायका निवर्तमान डीन प्रा.डा. विजुकुमार थपलिया, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक सन्जेशप्रसाद कोइराला लगायतले आवेदन दिएका छन्।
त्यस्तै प्राडा सूर्यप्रसाद संग्रौला, प्रा.डा. प्रमोदकुमार झा, प्राडा चक्रपाणि खनाल, प्रा.डा. जीवन ढकालले पनि उपकुपतिमा नियुक्तिका लागि आवेदन दिएका छन्। विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा कार्यरत छन्। उनी कांग्रेस नेतृ डिला संग्रौलाका पति हुन्।
अर्थशास्त्र विषयका प्राध्यापक झा माओवादी निकट हुन् भने प्राडा खनाल कांग्रेस निकट हुन्।
आवेदन दिने अन्य आकांक्षीमा प्रा.डा. रमेशकुमार भट्टराई, विनोद पराजुली लगायत छन्। माओवादी निकट भट्टराई त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीका श्रीमान् हुन्। यद्यपि शिक्षा मन्त्रालयले आवेदन पेश गरेका उम्मेदवारहरूको विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेको समितिले उपकुलपति नियुक्तिका लागि कार्यविधिसहित १५ दिने सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो।
जारी गरिएको कार्यविधिअनुसार तोकिएको मितिभित्र आवेदन दिएका उम्मेदवारहरूले पेश गरेको कागजातहरूको मूल्याङ्कनका आधारमा अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरी उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाइन्छ। सार्वजनिक अल्पसूचीमा परेको उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिमा नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्ने समितिको तयारी छ।
कुलपतिले यसरी सिफारिसमा परेका तीन जना उम्मेदवारहरूमध्येबाट एकजनालाई उपकुलपति नियुक्त गरिने विश्वविद्यालय स्रोतले जनाएको छ। अब नियुक्त हुने उपकुलपति विश्वविद्यालयको आठौँ उपकुलपति हुनेछन्।