प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।
शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यबाट पाउन नसकेको बताए।
‘धेरैलाई थाहा होला। त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ। सदनमा प्रस्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ। त्यहाँबाट मिति तोकिन्छ,’ उनले भने, ‘५ दिन भित्रमा समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने, त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ।’
यस्तै उनले जनयुद्ध दिवस शान्ति प्रक्रिया पुरै टुंग्याएपछि पुन: मनाइने र बिदा दिने बताए। अहिले ती प्रक्रिया पुरा नगरी बिदा दिँदा सर्वोच्चले रोकेको उनको भनाइ थियो।
‘अदालतको भनाइलाई कमेण्ट गरेको छैनौं। म प्रधानमन्त्री भएकाले कमेण्ट गर्न अफ्ठ्यारो हुन्छ। हामीले त जनयुद्ध दिवस त मनायौं। संक्रमणकालीन न्याय टुंगिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ,’ उनले भने।
न्युज एजेन्सी नेपाल