गत फागुन ५ गते कपिलवस्तुमा हत्या गरिएको अवस्थामा फेला परेका व्यक्ति कपिलवस्तुको महराजगञ्ज नगरपालिका वडा नम्बर ६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मी रहेको पुष्टि भएको छ।
गत फागुन ५ गते टाउको काटिएको अवस्थामा कुर्मीको शव फेला परेको थियो। कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँ नजिकै कुलोमा हत्या गरी गाडिएको अवस्थामा कुर्मीको शव फेला परेको थियो।
पुरुष व्यक्तिको टाउको काटिएको अवस्थामा शव भेटिएपछि प्रहरीले खोजी सुरू गरेको थियो।
खोजी गर्दै जाँदा कुलोमा शरीर गाडेको स्थानदेखि नजिकै खाडल खनेर टाउको गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शव भेटिएको स्थलदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरू बीच संघर्ष भएको निशान समेत भेटिएको छ।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा विवाहोत्तर सम्बन्धका कारण हत्या गरिएको हुनसक्ने जनाएको छ।