भक्तपुरमा एक जना पुरूष मृत फेला परेका छन्।
शुक्रबार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै एक गोठमा पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
मृतक तेह्रथुम छथर गाउँपालिका वडा नम्बर २ घर भई सूर्यविनायक सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल छन्।
डिएसपी पाठकका अनुसार उनी बुधबार राति ८ बजे कोठाबाट तेल किन्न जाने भनेर निस्केका थिए। तर उनी नफर्किएको भन्दै बिहीबार प्रहरी वृत्त जगाती भक्तपुरमा हुलियासहित निवेदन परेको थियो।
त्यसपछि खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको भन्ने खबर प्रहरीले पाएको हो।
उनको शव स्थानीय रोशन बस्नेतको कच्ची इटा र माटोले बनेको दुई तले गोठको भुइँ तलामा परालले छोपेको अवस्थामा रगताम्मे फेला परेको हो।
उनको शरीरमा चोटहरू पनि रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धान गर्न केनाइनबाट तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको हो।
यस घटनामा प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको बताएको छ।