काठमाडौं उपत्यकामा डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
ठगी आरोपमा पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकै ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।
यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन्। उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइएको छ।
रामबहादुरले डलर शंकरबाट लिन्थे। सस्तोमा डलर साटिदिने भनेर उनले ग्राहकहरूलाई खज्थे। सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर उनीहरूले लोभ्याउने गर्थे।
उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
त्यसरी डिल गरी ग्राहकलाई कुनै अनकन्टार ठाउँमा बोलाउने उनीहरूको आपराधिक शैली हो। उनीहरूले पीडितबाट मोटो रकम लिएर उनीहरूलाई भने कागजको बिटो दिएर ठगी गर्ने गरेका हुन्।
यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ।
उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन्। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ।’
उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए। प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ।