क्यान्सर रोगका कारण छोरा गुमाएको एक परिवारले क्यान्सर बिरामीको उपचारमा सहयोग गर्न कोष स्थापना गरेको छ।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्ने बिरामीलाई सहयोग गर्न १ करोड १ लाख ११ हजार १११ रुपैयाँको सहयोग कोष स्थापना गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका सेवानिवृत्त डिन प्रा.डा.तिर्थराज पराजुली र उनकी श्रीमती शारदादेवी पराजुलीले छोरा अञ्जनको स्मृतिमा क्यान्सर अस्पतालमा अक्षयकोष खडा गरेका हुन्। उनीहरूले काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा रहेको घर, जग्गा बिक्री गरेर अक्षयकोष खडा गरेको बताए।
अमेरिकाबाट विद्यावारिधी गरेका ४२ वर्षीय अञ्जन पराजुलीको दुई वर्षअघि ठूलो आन्द्राको क्यान्सरको उपचारको क्रममा अस्ट्रेलियामा निधन भएको थियो। उनको अन्तिम चरणमामात्रै क्यान्सर पहिचान भएको थियो।
‘हामीले त क्यान्सरबाट छोरालाई बचाउन सकेनौं। क्यान्सरको उपचार नपाएर अन्य व्यक्तिले अकालमा ज्यान नगुमाऊन् भनेर अस्पतालमा अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष स्थापना गरेको छौं,’ पराजुलीले भने, ‘यसलाई विधि बनाएर आवश्यकता अनुसार खर्च गरियोस् भन्ने चाहेका छौं।’
उनले विपन्न अवस्थाका क्यान्सरका बिरामीलाई सरकारले दिने आर्थिक सहयोग पर्याप्त नभएको अवस्थामा यो कोषले सहयोग गर्ने बताए।
अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले खर्चको अभावमा बिरामीहरू समयमै अस्पताल नआउने गरेको बताए।
समयमा उपचार गरे क्यान्सर रोग निको हुने उनी बताउँछन्।
‘उपचारमा नयाँ, अत्याधुनिक प्रविधिको विकास भइरहेको छ। सेवा गुणस्तरीय भइरहेको छ। यो अवस्थामा समयमै उपचार पाए क्यान्सर निको हुन्छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका बिरामीलाई समयमै उपचार गर्न यो कोषले सघाउँछ।’
अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले बिरामीलाई नयाँ जीवन दिन यो कोष सहयोगी हुने बताए।
‘यो कोषलाई सही ठाउँमा प्रयोग गर्न हामी इमानदारीपूर्वक लाग्छौं,’ उनले भने, ‘समयमै उपचार नपाएर मृत्यु हुने अवस्था आउन नदिन हामी हरतरहले प्रयास गरिरहेका छौं।’
अस्पतालका कार्यकारी प्रमुख संयोजक, उनले तोकेका एक जना डाक्टर र दाताको तर्फबाट एक जना सदस्य रहने समितिले सहयोग आवश्यक पर्ने बिरामीको पहिचान गर्नेगरी सम्झौता भएको छ।
कोषको ब्याजको १० प्रतिशत रकम कोषमै थप गर्ने र ९० प्रतिशतले बिरामीलाई सहयोग गर्ने पराजुलीले बताए।