प्रभु बैंकका वरिष्ठ डेपुटी सिइओ र सेन्चुरी बैंकका पूर्वसिइओसहित १० जना पक्राउ परेका छन्।
वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपाने, सेन्चुरीका पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।
एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिइन्। काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।
सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ। प्रहरीका अनुसार दुई अर्ब बढी ऋण प्रवाह गर्दा कम धितो राखेर अनियमितता गरेको आरोप छ।
सिआइबीले यसबारे थप अनुसन्धान गरिरहेको छ।