राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रूपमा विकास गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरूयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
उनले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरूङ, मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरूयोजना अनुरूप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिए।
‘यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ,‘ राष्ट्रपति पौडेलले भने।
आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
आफूले दार्जिलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठूलो बाटुलो भवनको धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिग कोट हुँदै गोरखा कालिका र मनकामनाबाट समेत देख्न सकिने बनाऔं भनेर यो परिकल्पना अघि सारेको स्मरण गरे।
‘नेपालका सात प्रदेश र सो क्षेत्रका सप्त गण्डकी समेतको प्रतीकात्मक स्थलका रूपमा यो उद्यान तयार हुन सक्छ,’ उनले भने।
विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरूयोजना अनुरूपको निर्माण कार्य गर्न उनले सुझाव दिए।
‘यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ,’ उनले भने।