नुवाकोटमा एक वृद्धको हत्या आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ।
रसुवा घर भई उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँ बस्ने ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पक्राउ पर्नेमा कालिका गाउँपालिका वडा नं.२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुसाल भन्ने चेतबहादुर दमाई र उनकी ३१ वर्षीया श्रीमती दिपा भट्ट भुसाल छन्। उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटना मंगलबार बिहान अन्दाजी ८ बजेतिर भएको हो।
रसुवाका टेकप्रसाद लामो समयदेखि नुवाकोट किस्पाङ क्षेत्रमा बस्दै आएका थिए। अनिल र दिपाले टेकप्रसादलाई मंगलबार बिहान फेला पारेर फकाएर खत्रिकुनास्थित पोलेरो जंगलमा लगेका थिए।
त्यहाँ लगेर श्रीमान-श्रीमती दुबै जनाले मिलेर दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि उनीहरू फरार भएका थिए।
त्यही दिन दिउँसो शव फेला परेको थियो। प्रहरीले घटना शंकास्पद देखेर तालिमप्राप्त कुकुर पनि झिकाएको थियो।
अनुसन्धानको क्रममा दम्पतीलाई काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बाइपासबाट प्रहरीले पक्राउ गरेको हो।
सोधपुछका क्रममा दम्पतीले रिसिइबी रहेकाले हत्या गरेको बयान दिएको कार्यालय प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
‘मृतक वृद्धले दिपामाथि शोषण गर्ने गरेको र त्यही रिसमा हत्या गरेको भनेका छन्,’ उनले भने।
यसमा थप अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिइसकेको छ।