दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ६ वर्षीय किसन डाँगीको मंगलबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार किसन आमा र अन्य बालबालिकासँग राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर गएका थिए।
उनकी आमा भाइटीका लगाउन माइती गएकी थिइन्।
मंगलबार दिउँसो मामाघरबाट अन्य बालबालिकासँग राप्ती नदीमा नुहाउन गएका किसन नदीमा डुबेका थिए।
उनलाई अचेत अवस्थामा उद्धार गरी लमही अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले जाँचपछि मृत घोषणा गरेका थिए।
किसनका बुबा खड्कसिंह डाँगी प्रहरी हवल्दार हुन्। उनी विपद व्यवस्थापन गुल्म तुलसीपुरमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
बाललको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।