रूपन्देही प्रहरीले पटाका पड्काएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
सोमबार साँझ पौने ७ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियार पक्राउ परेका थिए। उनीहरूले पटाका पड्काउँदा एक जना घाइते भएको र उनको उपचार भइरहेको रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए।
परियारद्वय बाणगंगा नगरपालिका–२ स्थित गुराँस युवा क्लबले आयोजना गरेको भैलो खेल्दै रूपन्देहीको कञ्चन गाउँपालिका–१, हात्तीबजार चोक पुगेका बेला पटाका पड्काएका थिए।
त्यस्तै, ठूलो आवाज आउने पटाका पड्काएर समाजमा त्रास फैलाएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३, धकधईका किसन मिश्र, रोहिणी–४ का पञ्चम हरिजन, रोहिणी–१ का अंगतकुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का मेहसल बरई र बुटवल उपमहानगरपालिका–११, बुद्धनगरका सन्देश परियार छन्।
डिएसपी चन्दका अनुसार पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।