धनुषाको जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्धीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार स्थानीय ३५ वर्षीय राखीदेवी यादव र ५८ वर्षीया देवकली देवी साहको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।
जनकपुरस्थित एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलबाट विद्यार्थी ल्याउन जलेश्वरतर्फ जाँदै गरेको बसले उनीहरूलाई ठक्कर दिएको थियो।
डिएसपी अवाका अनुसार मृतक राखीदेवी यादवको नन्दको आज विवाह थियो। त्यसका लागि उनीसहित महिलाको एक समूह मटकोर विधिका लागि माटो खन्न खेततर्फ जाँदै थिए।
सोही क्रममा उक्त बसले महिलाको समूहलाई नै ठक्कर दिएको प्रहरीले जनाएको छ।
डिएसपी अवाका अनुसार दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा घाइतेहरुको उपचार भइरहेको छ।
बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले घटनास्थलमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
स्थानीयले बस तोडफोड गरी चक्का जाम गरेका छन्। यद्यपि प्रहरीले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएको डिएसपी अवाको भनाइ छ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन सेल अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज समेत गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप कुरा पछि खुल्ने डिएसपी अवाले बताए।