मोरङमा एक किशोरीको हत्या भएको छ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी नवराज कार्कीले जानकारी दिए।
सोमबार राति साढे १० बजे ज्ञानमती आफ्नै घरको पछाडि रहेको शौचालयमा गएकी थिइन्। त्यहीबेला घरबाहिर कोही चिच्याएको आवाज आएको थियो।
निदाउन लागेका बेला आएको आवाजले मोरङ पथरीशनिश्चरे-७ का विनोद राई त्यतै दौडाए।
शौचालय नजिकै पुग्दा उनले देखे, बहिनी ज्ञानमती राई रगताम्मे भएर लडेकी थिइन्। छटपटाइरहेकी बहिनी देखेर आत्तिएका उनी कराए। होहल्ला भयो।
केहीबेर नबित्दै ज्ञानमतीको ज्यान गयो। उनीमाथि धारिलो हतियारको गहिरो चोट थियो।
‘चिच्याएको आवाज आएपछि हतारहतार आएको थिएँ, बहिनी लडिरहेको देखेँ,’ राईले मोरङ प्रहरीसित भनेका छन्, ‘त्यसपछि होहल्ला गरेँ। त्यसो गर्दागर्दै उसको प्राण गइसकेको रहेछ।’
पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढिरहेकी १५ वर्षीया ज्ञानमतीको गर्धनमा प्रहार भएको धारिलो हतियारले उनको घटनास्थलमै ज्यान लिएको थियो।
ज्ञानमती लामाटोलस्थित मामाका छोरा विनोदको घरमा बसेर पढिरहेकी थिइन्। खोटाङ ऐसेलुखर्क-६ मा घर भएकी उनी पढ्नलाई भनेर दुई वर्षअघि दाइको घरमा आएकी थिइन्।
चियानास्ता पसल चलाउने विनोदलाई उनले फुर्सदमा काम सघाउने गर्थिन्।
सोमबार पनि बेलुकाको खाना खाएर पढिरहेकी उनी शौचालय जाने बेलामा आक्रमणमा परेकी थिइन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले यस घटनामा संलग्नको पहिचान नखुलेको र कारणबारे खोजी भइरहेको बताए।
१५ वर्षीया किशोरीको यति विभत्स रुपमा भएको हत्याको कारणबारे सबै कोणबाट अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
‘कारण यही हो भन्ने खुलेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘प्रेम सम्बन्ध वा अरु केही हो, खुल्नेछ।’
प्रहरीले उनको घरपरिवारबारे जानकार कसैले हत्या गरेको हुने सम्भावना छ।
‘शौचालय जाने बाटो ढुकेर बसेको कसैले उनको हत्या गरेको देखिन्छ,’ ती प्रहरीले भने।
घटनास्थलमा मंगलबार बिहान मात्रै मुचुल्का गरिएको थियो। धरानबाट तालिमप्राप्त कुकुरको टोली पनि खटिएको थियो।
मंगलबार बिहान साढे ८ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमर्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।