रूपन्देही*बाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ।
सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो।
धादिङका डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३८ जनाको जीवितै उद्धार गरिएको छ।
केही यात्रुहरू अझै नदीमा बेपत्ता भइरहेको उनले बताए।
दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १ सय जनाभन्दा बढी सुरक्षाकर्मी उद्धारमा खटिएको उनले बताए।
बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जैसवारले बताए। (सच्याइएको)