त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार दुर्घटनामा थप एक घाइतेको मृत्यु भएको हो।
रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको थियो।
गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।
बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको उनले बताए।
बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको हो।
चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको सय जनाभन्दा बढी उद्धारकर्मी खटिएको उनले बताए।