६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले एक जना अधिकृतलाई पक्राउ गरेको छ।
बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा कार्यरत छैठौं तहका अधिकृत रामचन्द्र अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी काभ्रेलाई बुझाएको हो।
तत्कालीन समयमा उनी जिल्ला प्रशासन कार्यालय काभ्रेमा नासु थिए। त्यतिबेला दावा छिरिङको नागरिकता जारी गर्न सनाखत गरिदिएको आरोप उनीमाथि छ।
बेल्जियन नागरिक रहेका दावाले नागरिकता लिँदा निमा तामाङ नाम प्रयोग गरेका थिए। उक्त नागरिकता २०७४/०९/२० गते काभ्रेबाट जारी गरिएको थियो।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
दावा छिरिङ भने पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवलमा छन्।