बाँकेमा लुटेरा समूहले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ।
जानकी गाउँपालिका-३ का ४० वर्षीय सन्तोष कठरियाको मृत्यु भएको हो।
बुधबार राती साढे ११ बजे ५/६ जनाको समूह लुट्नको लागि कठरियाको घर छिरेका थिए। लुटपाट गर्ने क्रममा उनीहरूले सन्तोषमाथि कुटपिट पनि गरेका थिए। कुटपिटबाट घाइते भएका सन्तोषको नर्सिङ अस्पतालमा उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।
उनकी ३५ वर्षीया श्रीमती सविता राजवंशी घाइते छिन्। उनको भेरी अस्पतालमा उपचार भइरहेको इन्स्पेन्टर घिमिरेले जानकारी दिए।
घटनास्थलमा प्रहरी पुग्दा त्यहाँ लुटेराका समूह भागिसकेका थिए। कठरियाको घरबाट सुनसहित ४० हजारभन्दा बढी लुटपाट भएको अनुमान गरिएको छ। उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।