अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'हेल्भेटास नेपाल' ले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका पाँच सय युवाहरूलाई भूकम्पप्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने भएको छ।
यही वैशाख ५ गतेदेखि स्वीस सरकारको आर्थिक सहयोगमा सीप तथा पुनर्निर्माण परियोजना (एसआरपी) मार्फत् प्रभावित क्षेत्रका युवाहरूलाई लेभल–१ तालिम दिन लागेको हो।
यो तालिम भूकम्पबाट अतिप्रभावित स्थानीय तहहरू जाजरकोटको भेरी र नलगाड नगरपालिका, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पहिलो चरणमा सञ्चालन गरिने हेल्भेटास नेपालका टिम लिडर दिनेश पाण्डेले जानकारी दिए।
२०८० कात्तिक १७ गतेको भूकम्पले स्थानीय समुदायमा भूकम्पप्रतिरोधी भवन निर्माण सम्बन्धी सीप अभिवृद्धि आवश्यकता देखिएकाले स्वीस सरकारको सहयोग रहेको परियोजनामार्फत् तालिम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा सीप अभिवृद्धि तथा पुनर्निर्माणमा सहयोग पुर्याउन संस्थाले यी जिल्लामा परियोजना लागु गरेको उनले बताए।
पुनर्निर्माणमा लैङ्गिक समावेशीतासहित बिनाभेदभाव सहयोग पुर्याउनु परियोजनाको मुख्य उद्देश्य रहेको पाण्डेले बताए।
पालिकाहरूमा सञ्चालन गरिने तालिमबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्न योगदान पुग्ने संस्थाको अपेक्षा छ।
उनका अनुसार हरेक तालिममा भूकम्पबाट प्रभावित क्षेत्रका २० जना सहभागी हुनेछन्। तालिमको क्रममा भूकम्पबाट प्रभावित विपन्न समुदायका लागि दुईको घरसमेत तयार गरिने पाण्डेले जानकारी दिए।
यस्तै, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्निर्माणमा योगदान गर्न जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका एक/एक वटा विद्यालय भवन र स्वास्थ्य चौकी भवन संस्थाकै तर्फबाट पुनर्निर्माण गरिने पाण्डेले बताए।
उनका अनुसार संस्थाले सञ्चालन गर्न लागेको यो कार्यक्रममा प्रदेशस्तरमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समन्वय रहनेछ। स्थानीय सरकारको समन्वयमा कार्यक्रमको कार्यान्वयन गरिने उनले बताए।