काठमाडौंको कालिकास्थानस्थित जनचेतना ल फर्मबाट कानूनी परामर्श लिइरहेकी सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएसनले विरोध जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले कानून व्यवसायीको कार्यालयभित्र प्रवेश गरी कानूनी परामर्शमा रहेका सेवाग्राहीलाई नियन्त्रणमा लिने प्रहरीको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा कानून व्यवसायीसँग कानूनी परामर्श लिने सेवाग्राहीको संवैधानिक तथा कानूनी अधिकारमाथि हस्तक्षेप भएको उल्लेख छ।
कानूनी परामर्श तथा छलफल भइरहेको अवस्थामा सेवाग्राहीका महत्त्वपूर्ण कागजात अभिलेख रहने ल फर्मजस्तो संवेदनशील स्थानमा कानूनबमोजिम प्रवेश अनुमति नलिई सादा पोसाकका प्रहरी प्रवेश गरेको र कानून व्यवसायीहरूसँग अमर्यादित तथा असभ्य व्यवहार गरेको बारको भनाइ छ।
बारले यस्तो कार्यले कानूनको शासन र कानून व्यवसायीको पेसागत गोपनीयता एवं मर्यादामाथि गम्भीर आघात पुर्याएको जनाएको छ। घटनामा संलग्न दोषीलाई यथाशीघ्र कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यसअघि जनचेतना ल फर्मले पनि घटनाबारे नेपाल बार एशोसिएसनलाई निवेदन दिएको थियो। फर्ममा आबद्ध कानून व्यवसायीहरूले दिएको निवेदनअनुसार मंसिर ९ गते सेवाग्राही हस्तमाया बस्नेत उच्च अदालत पाटनमा मुद्दाको पेसी रहेकाले कानूनी परामर्शका लागि फर्ममा पुगेकी थिइन्।
सोही क्रममा बिहान करिब ११ः३० बजेदेखि एक व्यक्ति फर्मबाहिर र भित्र आवतजावत गरिरहेको र दिउँसो करिब ३ः३० बजे केही व्यक्ति फर्ममा प्रवेश गरेको निवेदनमा उल्लेख छ। आफूहरू सिभिल प्रहरी भएको परिचय दिँदै आएका उनीहरूले बस्नेतलाई पक्राउ गर्न खोजेको फर्मको दाबी छ।
निवेदनअनुसार पक्राउ पुर्जी माग गर्दा प्रहरीले मंसिर ७ गतेको पत्र देखाएको थियो। उक्त पत्रका आधारमा पक्राउ गर्न नमिल्ने जानकारी गराउँदा पनि प्रहरी कर्मचारीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै जबर्जस्ती गर्न खोजेको फर्मको भनाइ छ।
पछि साँझ करिब ६ बजे प्रहरी नायब निरीक्षक सञ्जय लामाको हस्ताक्षर भएको पक्राउ पुर्जी रिसेप्सन अगाडिको टेबलमा उपलब्ध गराएर बस्नेतलाई फर्मबाटै पक्राउ गरी लगिएको निवेदनमा उल्लेख छ।
फर्मले सेवाग्राही आउनुअघि नै मुद्दाको सेवाग्राही बनेर प्रहरी कर्मचारीहरू कार्यालयभित्र प्रवेश गरेको दाबीसमेत गरेको छ। यस घटनाले कानून व्यवसायीले आफ्ना सेवाग्राहीको प्रतिनिधित्व तथा प्रतिरक्षा गर्ने क्रममा निर्वाध रूपमा पेसागत जिम्मेवारी निर्वाह गर्न पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै संलग्न प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।