तीन हजार रुपैयाँमा पुरानो मोबाइल प्रयोग गर्न थालेकी दाङकी एक महिला चोरीको मोबाइल प्रयोग गरेको आरोपमा दुई महिना जेल बस्नुपरेपछि धरौटी बुझाएर रिहा भएकी छन्।
तुलसीपुर उपमहानगरपालिका–७ घुसरी घर भई हाल बाँकेको कोहलपुरमा बस्दै आएकी ४५ वर्षीया आशा बेलबासे सोमबार ५० हजार रुपैयाँ धरौटी बुझाएर कारागारबाट रिहा भएकी हुन्। उनको धरौटी रकम स्थानीय टोपबहादुर महतराले व्यक्तिगत रूपमा बुझाइदिएका थिए।
घटनाअनुसार गत भदौमा आशाका १६ वर्षीय देवरका छोराले भारत जान पैसा नभएको भन्दै आफूसँग भएको मोबाइल उनलाई राख्न दिएका थिए। त्यसबापत उनले आशासँग तीन हजार रुपैयाँ लिएका थिए। पछि मोबाइल प्रयोग गर्न भनेपछि आशाले आफ्नै नागरिकता प्रयोग गरेर सिमकार्ड निकालिन् र त्यही मोबाइल चलाउन थालिन्।
तर, उनले प्रयोग गरिरहेको मोबाइल चोरीको रहेको खुलेपछि प्रहरीको अनुसन्धानमा आशा पनि जोडिइन्। त्यसबेला उनी बहिनी बिरामी भएकाले चितवनको भरतपुर पुगेकी थिइन्। मोबाइलको लोकेसनका आधारमा प्रहरीले उनलाई भदौ २० गते चितवनबाट पक्राउ गरी दाङ ल्याएको थियो।
त्यसपछि उनीविरूद्ध चोरी सम्बन्धी मुद्दा अघि बढाइयो। जिल्ला अदालत दाङले थुनछेक बहसका क्रममा ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दियो। तर, आर्थिक अवस्था कमजोर भएकी आशाले धरौटी रकम बुझाउन सकिनन्। उनका श्रीमानको मृत्यु भइसकेको छ। कोहलपुरमा १२ वर्षीय छोरा र १३ वर्षीया छोरीसँग भाडामा बस्दै आएकी उनी ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै थिइन्।
धरौटी बुझाउन नसकेपछि उनलाई असोज ९ गते कारागार कार्यालय तुलसीपुर चलान गरिएको थियो। उनी जेल परेपछि उनका दुई सन्तानको बिचल्ली हुने अवस्था आयो। उनीहरू साथीको घरमा आश्रय लिएर बस्न बाध्य भए।
आशाको अवस्थाबारे तुलसीपुर कारागारमा तरकारी तथा फलफूल उपलब्ध गराउँदै आएका स्थानीय टोपबहादुर महतराले जानकारी पाए। कारागारका कर्मचारीले उनलाई आशाको आर्थिक अवस्था र बालबालिकाको समस्याबारे बताएका थिए।
त्यसपछि महतराले आशालाई जेलमुक्त गराउन पहल थाले। उनले नेपाल बन्दी सेवा संघका अध्यक्ष जय देउलालाई पनि आशाको अवस्थाबारे जानकारी गराउँदै आर्थिक सहयोगका लागि आग्रह गरे। साथै कारागारका कैदीबन्दीसँग पनि सहयोग मागे।
तर, सहयोग रकम संकलन हुनुअघि नै महतराले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ धरौटी बुझाइदिए। त्यसपछि आशा रिहा भएकी हुन्।
महतराले आफूले धरौटी बुझाएको थाहा पाएपछि तुलसीपुर कारागारका कैदीबन्दीले आपसमा रकम संकलन गरेर २० हजार रुपैयाँ सहयोग गरेको बताए।
‘मलाई २० हजार रुपैयाँ कैदीबन्दी दाजुभाइ तथा दिदीबहिनीले संकलन गरेर दिइसक्नुभएको छ,’ उनले भने, ‘अब मेरो व्यक्तिगत भागमा ३० हजार रुपैयाँ मात्रै परेको छ।’
महतराका अनुसार जय देउलाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर, उक्त रकम प्राप्त भइसकेको छैन।
रिहा भएपछि आशाले आफू अनजानमै समस्यामा परेको बताइन्। आफ्नो अवस्था बुझेर धरौटी रकम उपलब्ध गराई जेलबाट मुक्त गराउन सहयोग गर्ने महतरा, कारागारका कैदीबन्दी र देउलाप्रति उनले आभार व्यक्त गरिन्।
उनले सस्तोमा पाइयो भन्दैमा सामानको स्रोत र अवस्थाबारे नबुझी खरिद नगर्न पनि आग्रह गरिन्।
‘देवरको छोराको विश्वास गर्दा र सस्तोमा पाएँ भनेर मोबाइल प्रयोग गर्दा अनाहकमा जेल पर्नुपर्यो,’ उनले भनिन्, ‘हामी सोझासाझा तथा गरिबले सस्तो सामान पाएँ भन्दैमा हतारमा खरिद गर्दा ठूलो सजाय र सास्ती भोग्नुपर्ने रहेछ भन्ने बुझेँ।’