गत असार ३१ गते डोल्पाको दुनैबाट दुई जना मोटरसाइकलमा झोला बोकेर त्रिपुरासुन्दरी नगरपालिका–७ छ्लकातर्फ जाँदै थिए।
झोलामा थियो– ५५ लाख ९० हजार रूपैयाँ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा सवारी जाँच गरिरहेका सुरक्षाकर्मीले उनीहरूलाई रोके।
झोलामा के छ भनेर सोध्दा उनीहरूले पैसा भएको लुकाएनन्। यार्सा संकलन गर्ने गाउँका मानिसलाई बुझाउन पैसा लिएर हिँडेको बताए।
तर सुरक्षाकर्मीले उनीहरूको कुरा पत्याएनन्।
रकमको स्रोत खुल्ने कागजात पनि उनीहरूसँग थिएन। हुण्डी कारोबारको आशंकामा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–७ का ४२ वर्षीय भक्तिचन्द्र रोकाया र ३२ वर्षीय विष्णुलाल रोकायालाई रकमसहित नियन्त्रणमा लियो।
त्यसपछि सुरू भयो उनीहरूले बोकेको रकमको स्रोत पुष्टि गर्ने प्रक्रिया।
तर झन्डै पाँच महिनापछि प्रहरीले उक्त रकम फिर्ता गरेको छ।
दुवै जनालाई ५५ लाख ९० हजार रूपैयाँ फिर्ता गरेको छ।
अनुसन्धानका क्रममा यार्साको वैध यार्सा व्यापारबाट आएको पुष्टि भएपछि मुद्दा नचलाउने निर्णय भएको हो।
जिल्ला अदालत डोल्पाका श्रेस्तेदार विदुरप्रसाद कोइरालाका अनुसार प्रहरीले पक्राउ परेका दुवै जनालाई भोलिपल्ट म्याद थपका लागि अदालत पुर्याएको थियो।
त्यतिबेला पनि उनीहरूले आफूहरू हुण्डी कारोबारी नभई यार्सा संकलक रहेको र गाउँलेलाई पैसा बुझाउन हिँडेको बताएका थिए।
उनीहरूका अनुसार काठमाडौंका व्यापारीले बैंकमार्फत पठाएको रकम निकालेर गाउँका यार्सा संकलकलाई दिन लागेका थिए।
गाउँलेले यार्सा सिजनमा उधारोमा दिएका थिए। असार मसान्त र साउने संक्रान्ति नजिकिएकाले उनीहरूलाई पैसा चाहिएको थियो।
तर, तत्कालै उनीहरूको दाबी पुष्टि गर्ने कागजात थिएन।
केही दिनपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसन्धान अधिकृतले दुवै जना हुण्डी कारोबारमा संलग्न रहेको निष्कर्षसहित रकम जफत गर्नुपर्ने रायको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए।
सरकारी वकिल गोविन्द शाहीले भने उनीहरूको बयान र घटनाको प्रकृति हेरेर थप प्रमाण पेस गर्ने मौका दिए। दुवै जनालाई साउन ४ गते हाजिरी जमानीमा छाडियो।
‘मैले त्यो रकम आन्तरिक कारोबारमै प्रयोग भएको देखेँ,’ शाहीले भने, ‘हुण्डी कारोबार हुन विदेशबाट रकम आएको वा नेपालबाट बाहिर गएको देखिनुपर्थ्यो। मैले त्यस्तो केही देखिनँ।’
छुटेपछि रोकायाद्वयले आफूहरूको दाबी पुष्टि हुने कागजात जुटाउन थाले। उनीहरूले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पामा आवश्यक कर तिरेर यार्सागुम्बाको कारोबार गर्दै आएको प्रमाण पेस गरे।
उनीहरूका अनुसार काठमाडौंका नोर्बु तेञ्जिङ लामा र कुञ्छाङ टासी लामाले उनीहरूबाट चार किलो तीन सय ग्राम यार्सा उधारोमा किनेका थिए।
त्यसबापतको रकम उनीहरूका साथै अन्य स्थानीयको बैंक खातामा पठाइएको थियो।
सरकारी वकिल शाहीका अनुसार काठमाडौंका व्यापारीले स्थानीय हरिबहादुर रोकाया, सरस्वती बोहरालगायत करिब ६ जनाको खातामा दुई लाखदेखि १३ लाख रूपैयाँसम्म जम्मा गरेका थिए। त्यसको प्रमाणका रूपमा रोकायाद्वयले सिटिजन बैंक र नेपाल बैंकका विवरण पनि पेस गरे।
डोल्पाका बैंकबाट एक व्यक्तिले एक दिनमा दुई लाख रूपैयाँभन्दा बढी निकाल्न नपाउने भएकाले उनीहरूले पटक–पटक गरेर रकम निकालेको देखिने बैंक विवरण जुटाएका थिए। ती विवरण अध्ययन गर्दा रकम यार्सा खरिदबापत व्यापारीले पठाएको खुलेको शाहीले बताए।
प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले भदौ २५ गते मुद्दा नचलाउने निर्णय गर्यो। त्यससम्बन्धी राय उच्च अदालत जुम्लामा पठाइयो। उच्च अदालतले पनि असोज ७ गते मुद्दा नचलाउने निर्णयसहितको विवरण महान्यायाधिवक्ताको कार्यालयमा पठायो।
महान्यायाधिवक्ताको कार्यालयले पनि बैंकिङ कारोबार र अन्य कागजात अध्ययन गरेपछि कात्तिक १६ गते मुद्दा नचलाउने निर्णय गर्यो। उक्त निर्णय डोल्पास्थित सरकारी वकिल कार्यालयमा मंसिर ७ गते आइपुगेको थियो।
‘मंसिर ७ गते महान्यायाधिवक्ताको कार्यालयको निर्णय प्राप्त भयो। त्यसपछि मंसिर ९ गते जिल्ला प्रहरी कार्यालयलाई रोकायाद्वयबाट बरामद भएको नगद र सामान फिर्ता गर्न पत्राचार गरेँ,’ शाहीले भने।
सरकारी वकिल कार्यालयको पत्र पाएपछि प्रहरीले बुधबार दुवै जनालाई बोलाएर रकम र सामान फिर्ता गरेको हो।
डोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनयकुमार सिंहले महान्यायाधिवक्ताको कार्यालयको निर्णयअनुसार ५५ लाख ९० हजार रूपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको बताए।
पाँच महिनाअघि हुण्डी कारोबारको आशंकामा नियन्त्रणमा लिइएको रकम फिर्ता पाए पनि रोकायाद्वयसँग सम्पर्क हुन सकेन।