हवाई टिकट मिलाइदिन्छु भनेर ठगेको आरोपमा एक युवती पक्राउ परेकी छन्।
फेसबुकमार्फत् सम्पर्क गरी हवाई टिकट मिलाइदिन्छु भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले तारकेश्वर नगरपालिका-५ की सुनिता लामिछानेलाई पक्राउ गरेको छ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार दिउँसो गोकर्णेश्वरको नमुनावस्तीबाट पक्राउ गरेको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिन्छु भन्दै ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा ८ जनाले जाहेरी दिएका छन्।
सोही जाहेरी अनुसार अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८बागबजारस्थित जोइन्ट भिजन ट्राभल एण्ड टुर प्रालि सञ्चालन गरी ठगी गर्दै आएको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।
'सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको अनुसन्धानमा पनि पुष्टी भएको छ,' एसपी रेग्मीले भने।
उनिविरूद्ध काठमाडौं जिल्ला परिसरमा पनि बैंकिङ कसुर मुद्दामा तीनवटा निवदेन परेको उनले बताए।