चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गएराति १२ बजे चितवनको रत्ननगर नगरपालिका-४ वडा कार्यालय नजिकै भित्री सडकमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई घरको भित्ता ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार उक्त मोटरसाइकल स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो।
मोटरसाइकल ठोक्किँदा घरको भित्तामा समेत क्षति पुगेको छ।
दुर्घटनामा रत्ननगर नगरपालिका-३ बन्सीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो।
उनीहरूमध्ये मोटसाइकल कसले चलाएको भन्ने खुलेको छैन।
डिएसपी रिजालका अनुसार दुर्घटना लगत्तै दुवैलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा राति १ बजे दुवैजनाको मृत्यु भएको हो।
दुवै मृतकका परिवारले शव सनाखत गरेका हुन्।