काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
दुईवटा एक्सकाभेटर र टिपर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाइएको इन्स्पेक्टर थपलियाले जानकारी दिए।
'पहिरो पन्छाएपछि बिहान ३ बजेदेखि नै सवारी साधन दुईतर्फी नै चल्न थालिसकेका छन्,' इन्स्पेक्टर थपलियाले सेतोपाटीसँग भने।
साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ लामो जाम भएको थियो।
काठमाडौंतर्फको जाम चन्द्रागिरि नगरपालिका-२ वाणभन्ज्याङस्थित महाशक्तिसम्म पुगेको थियो भने धादिङतर्फ सिक्रे खोलासम्म जाम भएको थियो।
राति ८ बजेसम्म पहिरो खसिरहेका कारण पन्छाउन मुस्किल भएको थियो। पहिरो रोकिएपछि राति १० बजेदेखि मात्रै पन्छाउने काम सुरू भएको थियो।
दुईटा एक्सकाभेटर र टिपर प्रयोग गरी पहिरो पन्छाउँदा झन्डै पाँच घन्टा लागेको थियो।
बाटो दुइतर्फी सञ्चालनमा भएपनि सवारीको चाप केही बढी रहेको इन्स्पेक्टर थपलियाले बताए।
'लामो जाम थियो। बाटो खुलेपछि जाम हटेपनि सवारी साधनको चाप केही बढी छ,' उनले भने।