मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण (भारत) तर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने यथावत छ। जसका प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने विभागले जानकारी दिएको छ।
विभागका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई र बाग्मती प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मधेस, कोशी प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।