ऐतिहासिक वास्तुकलाको मौलिकता कसरी जोगाउने, परम्परागत शिल्पलाई आधुनिक निर्माणसँग कसरी जोड्ने र बदलिँदो प्रविधिबाट वास्तुकलामा कस्ता सम्भावना सिर्जना गर्ने? यिनै प्रश्नको उत्तर खोज्दै नेपालमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सिम्पोजियम ‘पाथफाइन्डर २०२६’ आयोजना गरिएको छ।
आइतबार भएको सम्मेलनमा नेपाल, स्पेन, भारत र इटालीका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरू एकैथलोमा जुटेका थिए। तीन सयभन्दा बढी आर्किटेक्ट र इन्जिनियर सहभागी सम्मेलनमा ऐतिहासिक सम्पदा संरक्षणदेखि निर्माण सामग्रीमा भइरहेका नवीन प्रयोगसम्मका विषयमा गहन छलफल भयो।
भिट्रिफाइड टायल ब्रान्ड लामिनारको आयोजनामा ‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ नारासहित सम्मेलन आयोजना गरिएको थियो।
कार्यक्रममा आर्किटेक्ट, इन्टेरियर डिजाइनर, प्राज्ञिक क्षेत्र, निर्माण उद्योग तथा पूर्वाधार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको वास्तुकला र निर्माण अभ्याससँग जोड्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको थियो।
सम्मेलनका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनाको विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्च निर्माणसँग जोडिएको अनुभव सुनाए।
पाँच वर्ष चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्ट रहेका उनी छवटा केन्द्रीय टावरको डिजाइन र निर्माण व्यवस्थापनमा संलग्न थिए। ऐतिहासिक परिकल्पनाको सम्मान गर्दै आधुनिक इन्जिनियरिङ र निर्माण विधि अपनाउनु चुनौतीपूर्ण भए पनि आवश्यक रहेको उनले बताए।
सन् १८८२ मा निर्माण सुरु भएको चर्चलाई एन्टोनी गौडीले विशिष्ट स्वरूप दिएका थिए।
सन् १९२६ मा गौडीको निधन भए पनि उनको प्रकृतिप्रेरित डिजाइनअनुसार निर्माण अघि बढिरहेको छ। गौडीको निधनको सय वर्ष पुगेकै वर्ष चर्चको सबैभन्दा अग्लो टावरको बाहिरी संरचना पूरा भएको प्रसंग उल्लेख गर्दै लोपेजले यसलाई पुस्तौँको साझा प्रतिबद्धताको उदाहरण बताए।
स्पेनको गृहयुद्धमा धेरै अभिलेख नष्ट भए पनि जोगिएका प्लास्टर नमुनाका करिब १६ हजार टुक्राको डिजिटल अध्ययनले पुरानो डिजाइन बुझ्न र निर्माणलाई निरन्तरता दिन सहयोग गरेको उनले सुनाए।
विशाल परियोजनाको सफलताका लागि सिर्जनशीलतासँगै योजना, व्यवस्थापन र विशेषज्ञहरूको समन्वय उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
लोपेजले भारतीय आर्किटेक्ट अमेय दलालसँग मिलेर गुजरातको कच्छमा अघि बढाइरहेको ‘सोमैया कला विद्या आर्टिजन्स युनिभर्सिटी’ परियोजनाको अनुभव पनि प्रस्तुत गरे।
स्थानीय सामग्री र परम्परागत शिल्पकलालाई आधुनिक वास्तुकलासँग जोडिएको उक्त परियोजनाले मौलिक सीप र नयाँ प्रविधि एकअर्काका पूरक बन्न सक्ने उदाहरण प्रस्तुत गरेको उनले बताए।
कार्यक्रमका अध्यक्ष तथा नेपाली आर्किटेक्ट एवं सहरी योजनाविद् वीरेश शाहले सम्मेलन भव्य रूपमा सफल भएको बताए।
नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय आर्किटेक्चर सिम्पोजियम पहिलोपटक आयोजना भएको उल्लेख गर्दै उनले दुई सयभन्दा बढी आर्किटेक्ट र इन्जिनियरको उत्साहजनक सहभागिताले यसको महत्त्व पुष्टि गरेको बताए।