नक्कली शैक्षिक प्रमाणपत्र छपाइ र होलोग्राम स्टिकर प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि कँडेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।
गत भदौ ४ गते पक्राउ परेका कँडेललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि कँडेललाई रास्वपाले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकसहित पार्टीको कुनै पनि जिम्मेवारी नरहने गरी निलम्बन गरेको थियो।
गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटेल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका भारत कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवको बयानको आधारमा प्रहरीले कँडेललाई पक्राउ गरेको थियो।
यादवले आफूले चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेलको योजना अनुसार नक्कली शैक्षिक प्रमाणपत्र र होलोग्राम स्टिकर ल्याएको बताएपछि प्रहरीले कँडेललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कँडेललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी दिए। अहिले उनलाई जिल्ला कारागार भैरहवा पठाइएको छ।
रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेल नक्कली सर्टिफिकेट र होलोग्राम स्टिकर प्रकरणमा पक्राउ परेपछि रास्वपाले उनलाई भदौ ५ गते नै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।
कँडेललाई जिल्ला अदालतका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। कँडेलविरुद्ध यसअघि पनि नक्कली शैक्षिक प्रमाण पत्रको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ चितवनका अध्यक्ष भइसकेका कँडेलको आफ्नो शैक्षिक प्रमाण पत्र पनि नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
कँडेलले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल माघ १८ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
उक्त आरोप पत्रपछि विशेष अदालत काठमाडौंले २०८० फागुन ११ गते ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
विशेष अदालतले ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोक्दै विशेष अदालतको फैसलामा चित्त नबुझे विशेष अदालत ऐन २०५९ को दफा १७ बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनका लागि म्याद दिएको थियो। सोही अनुसार कँडेलले पुनरावेदनको लागि सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
चितवनको कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरको श्री भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक भएकै समयमा प्लस टुदेखि स्नातकसम्मको मात्रै होइन, अध्ययन नै नगरी विद्यावारिधि ‘पिएचडी’ गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र लिएको भन्दै उजुरी परेको थियो।
भीमोदय नमूना माविमा २०५५ साल माघ १० गते अस्थायी नियुक्ति लिएका कँडेल २०६३ साल भदौ २५ गते स्थायी भएका थिए तर उनले लिएका सबै शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
कँडेलले निमावि तृतीय तहमा भीमोदय मावि चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुर भारतबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको भनि झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्ने विशेष अदालतको ठहर थियो।