घोराहीस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता युवकको शव गोताखोरले निकालेका छन्।
घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा पौडी खेल्न पसेकामध्ये घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार दिउँसोदेखि डुबेर नै बेपत्ता थिए।
सशस्त्र प्रहरी बल, नेपाल न. ४२ रिजर्भ गण हेडक्वार्टर समशेरगन्ज बाँकेबाट आएको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमबाट सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा विशेष तालिम प्राप्त ७ जनाको गोताखोर टोली आएपछि सोही टोलीले अनुपको शव ड्यामबाट निकालेको हो।
सशस्त्रको गोताखोर टोलीले अनुपको शव ३० फिट गहिरो पानीमुनि माटोमा गाडिएको अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर फेला पारेको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख प्रहरी निरीक्षक गगन शाहीले बताए।
प्रहरी निरीक्षक शाहीका अनुसार अनुप अघिल्लो दिन मात्रै मामाको घरमा आएका थिए। जसले दिउँसो अन्य साथीहरूसँग मिलेर मदिरा सेवनपछि ७ जना साथीहरूसँगै पौडी खेल्ने भनेर ड्याममा हाम फालेका थिए। तर, तीमध्ये ६ जना पौडिएर ज्यान जोगाउन सफल भए पनि अनुप भने बीचमा पुगेपछि डुबेर बेपत्ता भएका थिए। जसको शव शुक्रबार फेला परेको हो।
बेपत्ता अनुपको खोजीका लागि बिहीबार पनि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली लगायत स्थानीयले खोजीको प्रयास गरे पनि फेला परेको थिएन।
अहिले अनुपको शव निकालिसकेको हुँदा मुचुल्का तयार पार्ने कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए।