सडक विभागले बिपी राजमार्गमा अहिले १० बजेपछि आवागमन बन्द गर्ने भएको छ।
अविरल झरीका कारण ठाउँ ठाउँमा पहिरो खस्ने जोखिमका कारण आवागमन बन्द गर्न लागिएको हो।
बिहानदेखि राजमार्गमा प्रवेश गरिसकेका गाडीलाई पास गराएपछि १० बजेपछि थप गाडी नपठाउने सडक विभागले जनाएको छ।
त्यस्तै, पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने गाडीलाई कुरिनटार र काठमाडौंबाट बाहिर जाने गाडीलाई नागढुंगामा रोकेको पनि सडक विभागले जानकारी दिएको छ।
पृथ्वी राजमार्गको जवाङ खोलासहित केही स्थानमा पहिरो खसेको र सवारी साधन पठाउन नसकिने भन्दै नागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडी काठमाडौंतर्फ नै फर्काइरहेका छन्।
शुक्रबार रातिदेखि परेको अविरल वर्षातले नागढुंगा–मुग्लि सडक खण्डको ठाउँठाउँमा पहिरो खसेको ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ।
'धादिङका विभिन्न स्थानमा पहिरो आएको र तत्काल खुलाउने सम्भावना नरहेकाले, सम्पूर्ण चालक, सहचालक महानुभावहरू, पहिरो आएर फर्कन नसक्ने स्थिति हुनसक्छ, तपार्ईहरूलाई तत्काल यहाँबाट पठाउन स्थिति छैन। सुरक्षित तवरबाट काठमाडौं फिर्ता भइ सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं,' ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ।
चितवन प्रहरीले मुग्लिन–नारायणगढतर्फ आवातजावत बन्द गराएको बताएको छ। पृथ्वी राजमार्गतर्फ पनि केही स्थानमा पहिरो खसेका छन्।