नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।
काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन्।
काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित र्याली निकालेर नेपाल संवत् मनाइँदैछ। र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहेको छ।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ।
नेपाल संवत् नेपालको मौलिक संवत् हो। यसले नेपालको इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दै आएको छ। यस अवसरमा नेवार समुदायले म्हः पूजा गरी आफ्नो शरीर तथा आत्माको पूजा गर्दै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ।
तस्बिरहरू:






















