प्यालेस्टिनी अतिवादी समूह हमासले गजामा बन्धक रहेकाहरूलाई सोमबार छाड्ने भएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेदेखि बिहान ६ बजेबीच हमासले जीवितै रहेका बन्धकहरूलाई छाड्ने तय भएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।
ती बन्धकहरूलाई हमासले विभिन्न तीन ठाउँबाट छाड्ने भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले विभिन्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ।
सिएनएनले भने बिहान ८ बजेमात्रै बन्धकहरू छुट्ने जनाएको छ। बिहान ८ बजे दुई ठाउँबाट बन्धकहरूलाई छाडिने र त्यसको एक घन्टापछि अर्को ठाउँबाट हमासले बाँकी रहेका बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाउने सिएनएनले जनाएको छ।
कहाँ कहाँबाट बन्धकहरू छाड्छ भन्ने चाहिँ यकिन भइसकेको छैन।
हमासले गजामा मृत्यु भइसकेका बन्धकको शव हस्तान्तरण गर्न भने समय लाग्न सक्ने भनेको टाइम्स अफ इसराइलले जनाएको छ।
सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाएर हमासले गजा पुर्याएको २५१ जनामध्ये ४८ जना बन्धकहरू अझै हमासको नियन्त्रणमा छन्। तीमध्ये कम्तिमा २० बन्धकहरू अझै जीवित रहेको अनुमान छ।
विपिन जोशीसहित २ जना बन्धकहरूको स्थिति अज्ञात रहेको भनेर यसअघि सिएनएनले सूची नै सार्वजनिक गरेको थियो।
अमेरिकी अनलाइन द वाशिङ्टन पोस्टले भने विपिन जोशीसहित २२ बन्धक अझै जीवित रहेको विश्वास गरिएको भनेर समाचार लेखेको थियो।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सोमबार इसराइल प्रस्थान गर्दै छन्। इसराइल प्रस्थान गर्नुअघि उनले गजाको युद्ध अन्त्य भएको घोषणा गरेका छन्।
उनैले प्रस्ताव गरेको २० बुँदामा टेकेर गत विहीबार इजिप्टमा अप्रत्यक्ष वार्तामार्फत इसराइल र हमासबीच युद्धविराम गर्ने सहमति भएको थियो।
ट्रम्पले तेल अविभस्थित होस्टेज स्क्वायरमा बन्धकका परिवारलाई भेट्ने कार्यक्रम रहेको सिएनएनले जनाएको छ। होस्टेज स्क्वायरमा आइतबारदेखि नै बन्धकका परिवार र यसअघि छुटेका बन्धकका परिवारका सदस्य लगायत ठूलो संख्यामा मानिसहरू उपस्थित छन्।
ट्रम्पले सोमबार नै इसराइली संसदमा पनि सम्बोधन गर्नेछन्।
इसराइलबाट ट्रम्प इजिप्ट प्रस्थान गर्नेछन्। इजिप्टमा इसराइल र हमासबीच युद्धविरामको लिखित सहमतिलाई भव्य समारोहमार्फत हस्ताक्षर र अनुमोदन गर्ने कार्यक्रम छ।
यी हुन् वाशिङ्टन पोस्टले गजामा जीवितै रहेको भनेका विपिनसहित २२ बन्धक —
१. मतान एन्ग्रेस्ट (२२)
दक्षिण इसराइलमा आफ्नो ट्यांकबाट अपहरण गरिएका सैनिक हुन्। उनको आमाले प्रत्येक प्रदर्शनमा सहभागी भएर छोरा फर्काउने अभियान चलाइरहेकी छन्।
२. गाली बर्मन र जिभ बर्मन (२८)
कफर अजा बस्तीबाट अपहरण गरिएका जुडुवा दाजुभाइ हुन् गाली र जिभ बर्मन। उनीहरू अलग–अलग कैदमा रहेको जानकारी अघिल्ला बन्धकहरूले दिएका छन्।
३. एल्काना बोहबोट (३६)
एल्काना नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए।
४. रोम ब्रास्लाभ्स्की (२१)
नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। घाइते भएका उनी पछि अपहरण गरिएका थिए।
५. निमरोड कोहेन (२१)
निमरोड सैनिक ट्यांकबाट अपहरणमा परेका थिए।
६. एरिएल क्युनियो (२८)
निर ओज बस्तीबाट प्रेमिकासँगै अपहरणमा परेका थिए एरिएल। उनको प्रेमिका भने पछिल्लो युद्धविराममा मुक्त भएकी थिइन्।
७. डेभिड क्युनियो (३५)
डेभिड एरिएलका दाइ हुन्। उनी पत्नी र दुई छोरीसहित अपहरणमा परेका थिए। तर परिवारका सबै सदस्य पछि मुक्त भए। उनी मात्रै अझै बेपत्ता छन्।
८. एव्यातार डेविड (२४)
एव्यातार पनि नोभा महोत्सवबाट अपहरणमा परेका थिए। उनको दु:खद भिडियो सार्वजनिक भएपछि हजारौं इसराइलीी सडकमा निस्किएका थिए।
९. गाइ गिल्बोआ–दलाल (२४)
गाइ गिल्बो एव्यातारका बाल्यकालका साथी हुन्। नोभा महोत्सवबाट उनी र एव्यातारलाई हमासले अपहरण गरेको थियो। उनका भिडियोहरूले पनि इसराइलमा ठूलो आक्रोश पैदा गरेको थियो।
१०. म्याक्सिम हार्किन (३७)
उनी युक्रेनमा जन्मिएका र इसराइलमा बसोबास गर्थे। पहिलो पटक नोभा महोत्सवमा सहभागी हुँदा हमासले बन्धक बनाएको थियो।
११. एइतान होर्न (३८)
एइतान दाजुसँगै अपहरण परेका थिए। दाजु पछि मुक्त भए, तर एइतान अझै गजामा कैदमा छन्।
१२. बिपिन जोशी (२४)
विपिन सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इसराइल पुगेका थिए। उनी अलुमिम बस्तीबाट अपहरणमा परेका थिए। उनी एक्ला गैर–इसराइली बन्धक हुन्। उनको परिवारले नेपाल र इसराइल दुबै ठाउँमा सक्रिय रूपमा पहल गरिरहेको छ। केही समयअघि उनको भिडिओ सार्वजनिक भएको थियो। भिडिओ उनी बन्धक भएर गजा पुर्याइएलगत्तै खिचिएको थियो। इसराइलको अनुमतिमा परिवारले केही दिन अघि मात्रै उक्त भिडिओ सार्वजनिक गरेको थियो। सिएनएनले उनको स्थिति अज्ञात भनेर समाचार लेखेको थियो।
१३. सेगेभ काल्फोन (२७)
सेगेभ नोभा महोत्सवबाट अपहरणमा परेका थिए।
१४. बार कुपरस्टाइन (२३)
नोभा महोत्सवमा हमासले आक्रमण गरेपछि बार घाइतेहरूको सहायतमा खटिएका थिए। त्यतिबेलै हमासले उनलाई पनि अपहरण गरेको थियो।
१५. ओम्री मिरान (४८)
ओम्नी नहाल ओज बस्तीबाट अपहरणमा परेका थिए। उनका साना छोरीहरूले बुबालाई केबल फोटो र भिडियोबाट मात्रै चिनेका छन्।
१६. एइतान मोर (२५)
सुरक्षा गार्डको रूपमा काम गर्दै गर्दा एइतान अपहरणमा परेका थिए। उनको परिवारले अन्य बन्धक परिवारहरूसँग मिलेर ‘टिक्वा फोरम’ स्थापना गरेको छ।
१७. तमिर निम्रोडी (२०)
उनी गाजा प्रवेश नाकाबाट अपहरण परेका थिए। उनको विषयमा पनि दुई वर्षदेखि कुनै जानकारी छैन। उनको विषयमा पनि सिएनएनले अवस्था अज्ञात भनेर लेखेको थियो।
१८. योसेफ–खाइम ओहाना (२५)
योसेफ नोभा महोत्सवमा बारटेन्टरका रूपमा कार्यरत थिए। अरूलाई बचाउने क्रममा उनी पनि अपहरणमा परेका थिए।
१९. अलोन ओहेल (२४)
उनी पनि संगीत महोत्सवबाट अपहरणमा परेका थिए। उनी पियानो बाधक हुन्।
२०. अविनातन ओर (३२)
अविनातन पनि प्रेमिकानोआ अर्गामानीसँगै अपहरणमा परेका थिए। अर्गामानीलाई इसराइली सेनाले गत वर्ष उद्धार गरेको थियो।
२१. मतान जांगाउकर (२५)
उनी निर ओज बस्तीबाट अपहरणमा परेका थिए। उनकी प्रेमिका इल्याना ग्रीटजेभ्स्की मुक्त भइसकेकी छन्, तर उनी अझै बेपत्ता छन्।