प्यालेस्टिनी अतिवादी समूह हमासले बाँकी रहेका बन्धकहरूलाई सोमबार छाड्दैछ।
सोमबार दिउँसोसम्म जीवित बाँकी रहेका सबै बन्धकहरूलाई छाड्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना बन्धक मात्रै जीवित रहेको भनिएको छ। दुई जनाको अवस्था अज्ञात र २६ जना बन्धकको मृत्यु भएको भनेर यसअघि नै सार्वजनिक भइसकेको छ। त्यसको यकिन भने बन्धकहरू छुटेपछि नै हुनेछ।
बन्धकका परिवार आइतबारदेखि नै इसराइलको राजधानी तेव अविभस्थित होस्टेज स्क्वायरमा जम्मा भएर बसेका छन्। त्यहाँ ठूलो संख्यामा मानिसहरू भेला भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
मृत्यु भएका बन्धकहरूको शव हस्तान्तरण गर्न केही समय लाग्ने हमासले इसराइललाई जानकारी दिएको छ।
यद्यपि ७२ घन्टाभित्र जीवित र मृत्य भएका बन्धकहरू हमासले छाडिसक्नुपर्ने सम्झौता छ।
हमासले बन्धकहरु छाडेपछि इसराइलले १७ सय कैदीलाई जेलमुक्त गर्नेछ। त्यसमध्ये २५० जना आजीवन कारावासको सजाय पाएकाहरू रहनेछन्।
हमासले बन्धकहरूलाई छाड्दा यसअघि जसरी नै अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाउनेछ।
सिएनएनका अनुसार यसपालि भने हमासले अघिल्लो पटक बन्धक छाडेको जस्तो समारोह नगर्ने बताइएको छ।
अघिल्लो पटक बन्धकहरू छाड्दा हमासले वरिपरि ठूलो संख्यामा नकाब र हतियारधारी लडाकूको भीड तयार पार्ने र त्यहीँ भिडको बीचबाट बन्धकहरुलाई छाड्ने दृश्य देखिएको थियो। यसले बन्धकलाई मनोवैज्ञानिक असर पर्ने भनेर यसअघि पनि इसराइलले विरोध जनाएको थियो।
त्यसकारण यसपटक बन्धक रिहा गर्दा उनीहरुमाथि त्यस्तो व्यवहार हुने छैन। 'यसपटक हमासले कुनै पनि प्रचारात्मक दृश्य प्रदर्शन गर्न पाउने छैन। कुनै अमानवीय प्रदर्शन हुने पनि छैन,' इसराइली प्रधानमन्त्री कार्यालयकी प्रवक्ता शोश बेड्रोसियनले बताएकी छन्।
इसराइली सरकारका अनुसार गाजामा रहेका २० जना जीवित बन्धकलाई हमासले सुरूमा अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाउनेछ। रेडक्रसले ती सबैलाई ६ देखि ८ वटा सवारी साधनमार्फत इसराइल पुर्याउँछ।
मुक्त गरिएका बन्धकहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइन्छ। त्यसपछि उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल लगिन्छ। बन्धकहरूको उपचारका लागि तीन वटा अस्पतालमा तोकिएको सिएनएनले जनाएको छ।
मृत अवस्थामा फर्काइएका बन्धकका लागि इसराइलले विशेष समारोह आयोजना गर्ने जनाएको छ।
७२ घन्टाभित्र मृतकहरूको शव फिर्ता हुने सुनिश्चित अन्तर्राष्ट्रिय टोली खटाइनेछ।
इसराइली भूमिमा बन्धकहरू सुरक्षित आइपुगेपछि इसराइलले सहमति अनुसारका प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ।
सम्झौताअनुसार, इसराइलले आजीवन कारावास भोगिरहेका २५० जना प्यालेस्टिनी कैदीहरू र सन् २०२३ अक्टोबर ७ पछि गाजाबाट पक्राउ परेका १ हजार ७०० जना कैदीलाई मुक्त गर्नेछ।