हमासले बन्धकहरू छाड्न सुरू गरेको छ।
केही बेरअघि हमासले पहिलो चरणको बन्धकहरु छाडेको हो।
पहिलो चरणमा ७ जना बन्धक हमासले अन्तर्राष्ट्रिय रेड क्रसको जिम्मा लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ती बन्धकहरू को-को हुन् भन्ने चाहिँ खुलिसकेको छैन।
सिएनएनका अनुसार यसपालि भने हमासले अघिल्लो पटक बन्धक छाडेको जस्तो समारोह नगर्ने बताइएको छ।
अघिल्लो पटक बन्धकहरू छाड्दा हमासले वरिपरि ठूलो संख्यामा नकाब र हतियारधारी लडाकूको भीड तयार पार्ने र त्यहीँ भिडको बीचबाट बन्धकहरुलाई छाड्ने दृश्य देखिएको थियो। यसले बन्धकलाई मनोवैज्ञानिक असर पर्ने भनेर यसअघि पनि इसराइलले विरोध जनाएको थियो।
त्यसकारण यसपटक बन्धक रिहा गर्दा उनीहरुमाथि त्यस्तो व्यवहार हुने छैन। 'यसपटक हमासले कुनै पनि प्रचारात्मक दृश्य प्रदर्शन गर्न पाउने छैन। कुनै अमानवीय प्रदर्शन हुने पनि छैन,' इसराइली प्रधानमन्त्री कार्यालयकी प्रवक्ता शोश बेड्रोसियनले बताएकी छन्।
इसराइली सरकारका अनुसार गाजामा रहेका २० जना जीवित बन्धकलाई हमासले सुरूमा अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाउनेछ। रेडक्रसले ती सबैलाई ६ देखि ८ वटा सवारी साधनमार्फत इसराइल पुर्याउँछ।
मुक्त गरिएका बन्धकहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइन्छ। त्यसपछि उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल लगिन्छ। बन्धकहरूको उपचारका लागि तीन वटा अस्पतालमा तोकिएको सिएनएनले जनाएको छ।
मृत अवस्थामा फर्काइएका बन्धकका लागि इसराइलले विशेष समारोह आयोजना गर्ने जनाएको छ।
७२ घन्टाभित्र मृतकहरूको शव फिर्ता हुने सुनिश्चित अन्तर्राष्ट्रिय टोली खटाइनेछ।
इसराइली भूमिमा बन्धकहरू सुरक्षित आइपुगेपछि इसराइलले सहमति अनुसारका प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ।
सम्झौताअनुसार, इसराइलले आजीवन कारावास भोगिरहेका २५० जना प्यालेस्टिनी कैदीहरू र सन् २०२३ अक्टोबर ७ पछि गाजाबाट पक्राउ परेका १ हजार ७०० जना कैदीलाई मुक्त गर्नेछ।
यी हुन् आज छुट्ने २० जना बन्धकहरू-
१. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो