उनी भर्खर किशोर अवस्थामा प्रवेश गर्दै थिए।
कक्षा–८ मा पुगेसँगै उनलाई एक जना केटा मनपर्न थाल्यो। त्यति बेला उनी १४ वर्षका थिए।
उनका उमेर समूहका केटा साथीहरू केटीहरूसँग बोल्थे, जिस्काउँथे, मनपराउँथे।
उनी भने केटा भए पनि त्यही भावना केटातिरै थियो। आफूलाई मनपरेको केटासँग बोल्न, नजिक हुन पाउँदा रमाउँथे।
'मनपरेका केटासँग बोल्दा आनन्द लाग्थ्यो,' उनले भने, 'केटासँगै प्रेम भएको महसुस हुन थालेपछि मलाई अचम्म लाग्यो। अनि पुरूषलाई किन पुरूष मनपर्छ भनेर गुगलमा खोजेँ।'
उनलाई नयाँ कुरा थाहा भयो— पुरूष भएर पुरूषप्रति नै आकर्षित हुनुलाई 'गे' (समलिंगी पुरूष) भनिन्छ।
त्यसपछि उनले आफ्नाबारे थप प्रस्ट हुन दिनहुँ खोजबिन गरे, पढे। त्यही क्रममा नेपालमा भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे पनि बुझे। उनीहरूसँग कुराकानी गरे।
'आफूले आफैलाई बुझ्दै गएँ,' उनले भने, 'बच्चादेखि नै छोरी मान्छेको लुगा लगाउन, मेकअप गर्न मनपर्थ्यो। त्यसको कारण बिस्तारै बुझ्दै गएँ।'
करिब एक वर्षपछि उनलाई आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुँ भनेर पक्का भयो। जन्म पुरूषका रूपमा भए पनि भावनात्मक रूपमा आफू महिला हुँ भन्ने उनले बुझे।
यसपछि उनले आफूलाई महिला मानिन् र नजिकका साथीहरूलाई मनका कुरा सुनाइन्।
एक कान, दुई कान हुँदै यो कुरा कक्षाभरि फैलियो।
कक्षा–९ सम्म पुग्दा त धेरै साथीहरूलाई थाहा भइसकेको थियो। मिल्ने साथीहरूले उनको पहिचानको विषयलाई लिएर कहिल्यै नराम्रो भनेनन्। अरूले भने जिस्काए।

'जस्तै क्रिकट खेलिरहेका ठाउँमा म अगाडि पर्नासाथ ठूलो स्वरमा छक्का भन्थे,' उनले भनिन्, 'खेलसँग जोडेर मलाई जिस्काउँथे। मन दुख्थ्यो।'
जसले जे भने पनि उनी आफ्नो वास्तविक पहिचानसँग डराइनन्। आफू पुरूष नभएर महिला भएको पक्का भइसकेपछि उनले आँट गरेर यो कुरा आमालाई भनिन्।
त्यो बेला उनी कक्षा–१० मा पढ्थिन्।
'आमाले त्यस्ता भावनात्मक कुरामा नलाग् भनेर सम्झाइबुझाइ गर्नुभयो। तर मैले आफ्नो अडान छाडिनँ। छोरी नै हुने अडानमा रहिरहेँ,' उनले सुनाइन्।
उनलाई आफ्नो कुरा प्रस्ट राख्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले आफ्नो पहिचान खुलाउन आफन्त वा समाजले के भन्ला भन्ने कहिल्यै सोचिनन्।
सबैलाई थाहा भएपछि उनी शृंगार र कपाल पालेरै स्कुल जान थालिन्। स्कुलले भने उनलाई त्यसरी नआउन भन्यो। एसइई परीक्षाका लागि अन्यत्र जाँदा नाम र मान्छे फरक देखिए समस्या हुन सक्छ, त्यसैले अहिले पुरूषकै हुलियामा बस भनेर सम्झायो।
यो कुरा उनलाई पनि चित्त बुझ्यो। अनि एसइईसम्म पुरूषकै हुलियामा बसिन्।
मोरङ, उर्लाबारीकी उनी एसइईपछि थप पढ्न काठमाडौं आइन्। त्यति बेला भने उनी महिलाकै पहिरनमा खुलिन्।
सन् २०२१ को अन्तिमतिर काठमाडौं आएकी उनी आफन्तकहाँ बसेर पढ्न थालिन्। आफ्नो पुरूष नाम पनि बदलेर आरोही राखिन्।
त्यो बेला आरोही बस्नेत १६ वर्षकी मात्र थिइन्।
उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संस्था ब्लु डाइमन्ड सोसाइटीसँग जोडिइन्। तत्कालीन अध्यक्ष पिंकी गुरूङसँगको भेटले जिन्दगीमा नयाँ मोड आएको उनी बताउँछिन्।

यही क्रममा आरोहीलाई हर्मोन लिएर शारीरिक बनावट परिवर्तन गर्न सकिने थाहा भयो। उनले हर्मोन लिन थालिन्। बिस्तारै उनका शरीरका रौं कम हुँदै गए। छाला पनि नरम हुँदै गयो।
आरोही शृंगार गरेर, महिलाको लुगा लगाएर, खुसी भएर हिँडेको देखेपछि उनको परिवारले पनि बिस्तारै रोकटोक गर्न छाड्यो। बरू उनलाई साथ दिन थाल्यो।
परिवार र ब्लु डाइमन्डको सहयोगमा तीन वर्षअघि उनले भारत गएर स्तन राखिन्। डेढ वर्षअघि यौनांग पनि परिवर्तन गरेर पूर्ण रूपमा महिला बनिन्।
'करिब १५ लाख रूपैयाँ खर्च गरेर शरीर बनाएँ। पहिले भावनात्मक रूपमा मात्र महिला थिएँ। अहिले शारीरिक रूपमा पनि महिला नै छु,' उनले भनिन्।
केही महिनाअघि उनले महिलाकै नाममा नागरिकता समेत लिइन्।
आरोही आफूलाई 'ट्रान्सवुमन' (पारलैंगिक महिला) भनेर चिनाउँछिन्। तर केही मानिसहरूले नपत्याउने उनले बताइन्।
उनले एउटा घटना सुनाइन्।
चार महिना अगाडि मिस युनिभर्स–२०२५ को कार्यक्रम थियो। उनी त्यसमा सहभागी भएकी थिइन्। उनले त्यहाँ आफूलाई ट्रान्सवुमन भनेर चिनाइन्।
'सबैले तपाईं त ट्रान्सवुमन जस्तो देखिनुहुन्न भन्नुभयो,' उनले भनिन्, 'तर कसैले नराम्रो व्यवहार गर्नुभएन। त्यही राम्रो लाग्यो।'
मिस युनिभर्स–२०२५ प्रतियोगितामा उनी फर्स्ट रनरअप भइन्।
'अल्पसंख्यक समुदायबाट मिस युनिभर्सको उपविजेता बन्ने म पहिलो व्यक्ति हुँ,' उनले दाबी गरिन्।
अब आरोहीको सपना मोडलिङको कोरियोग्राफर बन्ने हो। यसमा स्टेजमा हिँड्ने, बोल्ने कला सिकाइन्छ।
'कोरियोग्राफर बन्ने सपना पूरा गर्न मेहनत गरिरहेकी छु,' उनले भनिन्, 'सँगै पढाइ पनि अगाडि बढाइरहेकी छु।'
उनी अहिले काठमाडौंकै एक कलेजमा स्नातक पहिलो वर्षमा पढिरहेकी छन्।
'आफू पढे र बुझेपछि मात्र अरूलाई कुरा बुझाउन सकिन्छ,' आरोहीले भनिन्, 'मेरो चाहना आफूजस्तै पहिचान खुलाएर बाँच्न र आत्मनिर्भर हुन समुदायलाई सहयोग पुर्याउने हो।'

