कुनै पनि क्यान्सर चौथो चरणमा छ भन्नासाथ बिरामीहरू एकदमै आत्तिन्छन्, डराउँछन्, तर्सिन्छन्। यो स्वाभाविक हो।
आज भने हामी स्तन क्यान्सरको कुरा गर्दैछौं। किनभने स्टेज–४ को क्यान्सरमध्ये सबभन्दा धेरै सुधार आएको र उपचार सहज हुँदै गएको स्तन क्यान्सरमै हो।
चौथो चरण भन्नाले क्यान्सर जहाँबाट फैलिएको हो, त्यहीँबाट अन्य ठाउँमा सर्दै जाने अवस्था हो। स्तन क्यान्सरको कुरा गर्दा यो कलेजो, फोक्सो वा हड्डीमा पुग्न सक्छ। कहिलेकाहीँ टाउकोमा पनि पुग्न सक्छ।
विगतमा क्यान्सर लाग्नासाथ अब जिन्दगी सकियो भन्ने हुन्थ्यो। तर अहिले स्टेज–४ मा पुगेका क्यान्सरका बिरामीको समेत जीवन लम्ब्याउन सकिने भएको छ। स्तन क्यान्सरको हकमा यो प्रतिशत झन् बढ्दै गएको छ। अर्थात् क्यान्सर नियन्त्रण भएर केही समय औषधि नै दिननपर्ने अवस्था पनि ल्याउन सकिन्छ।
तर यो सबै क्यान्सर बिरामीमा यही हुन्छ भन्न सकिँदैन।
बिरामीको क्यान्सर नियन्त्रण हुँदै गएको आधारमा हामीले किमोथेरापी र उपचार स्थगन गर्न सक्छौं। मेडिकल भाषामा भन्दा 'किमो होलिडे' र 'ट्रिटमेन्ट होलिडे' अपनाइन्छ।
अहिले ३, ६ र ९ महिनासम्म 'किमो होलिडे' र 'ट्रिटमेन्ट होलिडे' मा रहने बिरामी बढ्दै छन्।
स्तन क्यान्सर स्टेज–४ मा पुगेको अवस्थामा रोग दौडिरहेको हुन्छ। त्यस्तो अवस्थामा हामीले रोगको गति कम गरेर हिँडाउने प्रयास गर्छौं। अनि रोग हिँडेको छ भने बामे सार्ने प्रयास हुन्छ।
जुन तरिकाले स्तनका कोषिकाहरू विभाजन भइरहेका छन्, त्यो नियन्त्रण गर्दै अन्तिममा विभाजन भएका कोषिकालाई सामान्य कोषिकाको गतिमा ल्याउने भन्ने हो। यसले गर्दा क्यान्सरका कोषिकाहरू हराउँदै जान्छन्।
यसलाई मेडिकल भाषामा 'रेमिसन' भनिन्छ। रेमिसन भएको खण्डमा 'किमो होलिडे' वा 'ट्रिटमेन्ट होलिडे' दिइन्छ।
म कार्यरत पाटन अस्पतालमा स्तन क्यान्सरका बिरामीको उपचारमा केही सहजता छ। स्टेज–४ क्यान्सरका बिरामीको इआर/पिआर पोजिटिभ, एचइआर–२ नेगेटिभको औषधि निःशुल्क पाइन्छ।
प्रविधि विकास, नयाँ नयाँ औषधि पत्ता लाग्नु र औषधिको सहजताले स्टेज–४ मा पुगेका स्तन क्यान्सरका बिरामीको जीवन सहज हुँदै गएको छ।
स्टेज–४ का स्तन क्यान्सर बिरामीले मधुमेह, उच्च रक्तचाप, थाइरोइडजस्तै नियमित औषधि सेवन गर्नुपर्छ भनिन्छ।
तर पछिल्ला अध्ययनले क्यान्सर नियन्त्रण गर्ने हाम्रो क्षमता बढ्दै गएको देखाएका छन्। यसले गर्दा ९ महिना वा १ वर्ष उपचार गरेपछि सिटी स्क्यान, एमआरआई वा पिइटी स्क्यान गर्दा क्यान्सरको कोषिका देखिएन भने 'किमो होलिडे' वा 'ट्रिटमेन्ट होलिडे' मा राख्न सकिन्छ। उपचार नगरी तीन/तीन महिनामा बिरामीलाई बोलाउन सकिन्छ।
तर बिरामीले स्वस्थ खानपिन र दैनिकीमा ध्यान दिन जरूरी छ। त्यसमा पनि धेरै खाना जमिनबाटै उम्रिएको भए राम्रो मानिन्छ। बिरामीले आराम गर्नुपर्छ। स्तन क्यान्सरका बिरामी ७ देखि ९ घण्टा सुत्न जरूरी छ। अनि व्यायाम, ध्यान, योग पनि गर्न सकिन्छ। केही भए पनि, नभए पनि फलोअपका लागि गइरहनुपर्छ।
यस्तो गर्न सक्दा रोग लामो समय नियन्त्रण गरेर राख्न सकिन्छ। गुणस्तरीय जीवन बाँच्ने सम्भावना बढ्छ।
क्यान्सर उपचारमा मेरो अनुभवले के भन्न सक्छु भने, सुरूआती दिनमा स्टेज–४ का बिरामीले निकै थोरै समय जीवन बाँच्न पाउँथे, दुःख पनि हुन्थ्यो।
अहिले यसमा सुधार भएको छ। बिरामीले सहज र लामो जीवन पाउन थालेका छन्। स्टेज–४ स्तन क्यान्सरको उपचारमा हामीले फड्को मारेका छौं।
(क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नर्भिक अस्पतालमा कार्यरत छन्।)