भेनेजुएलाको राजधानी कराकसमा शृंखलाबद्ध विस्फोट भएको छ।
शनिबार सबेरै भेनेजुएलाको राजधानीमा शृंखलाबद्ध विस्फोटको आवाज आएको भन्दै आकाशमा कालो धुवाँ मडारिएको दृश्यसहितका फोटो तथा भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय समयअनुसार बाहन २ बजेतिर विस्फोटका आवाजहरू आएका थिए।
त्यस्तै दक्षिणी क्षेत्रमा रहेको एक प्रमुख सैनिक बेस नजिक विद्युत् आपूर्ति पनि अवरुद्ध भएको प्रत्यक्षदर्शीहरूले बताएको भनेर रोयटर्सले लेखेको छ।
विस्फोट कहाँ–कहाँ भए भन्नेबारे पनि आधिकारिक पुष्टि भइसकेको छैन।
कतारी मिडिया अल जजिराले पनि विस्फोट काराकासको मुख्य सैनिक अड्डा फोर्तुना नजिक वा वरिपरि भएको बताएकी छन्।
‘फोर्तुना त्यहाँको अत्यन्त महत्वपूर्ण सैनिक आधार हो। त्यस क्षेत्रभरि क्रमिक रूपमा विस्फोटको आवाज सुनियो र त्यसपछि विद्युत् आपूर्ति अवरुद्ध भयो,' अल जजिराले लेखेको छ।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)ले कराकसमा कम्तिमा सातवटा विस्फोटको आवाज सुनिएको भनेको छ।
उसले होचो उचाइमा उडिरहेका विमानहरूको आवाज पनि सुनिएको लेखेको छ।
अहिलेसम्म विस्फोट कसले गराएको भन्ने पुष्टि भएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जमिन आधारित सैन्य हमला गर्ने चेतावनी दिँदै आएका थिए। उनले हमला आकाशबाट वा जमिनमै अमेरिकी सेना पठाएर गर्न सकिने भनेर पटकपटक सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए।
ह्वाइट हाउस र पेन्टागनले अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ।
ट्रम्पले राष्ट्रपति निकोलस मादुरोलाई सत्ता छोड्न दबाबका लागि विभिन्न गतिविधि गर्दै आएका छन्। भेनेजुएलाको तेल बोकेको पानीजहाज कब्जा गर्नेदेखि लागुऔषध तस्करी गरेको भनेर क्यारेबियन सागरमा डुंगाहरूमाथि आक्रमण गराउँदै आएका छन्।
यसबीच भेनेजुएलाका राष्ट्रपति मदुरोले विवाद विषयमा दुई देशका अधिकारीहरूले गम्भीरतापूर्वक कुराकानी सुरु गर्नुपर्ने जनाएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
स्पेनी पत्रकारसँगको अन्तर्वार्ताका क्रममा मदुरोले महिनौँदेखि चलिरहेको शंकास्पद लागूऔषध तस्कर लक्षित अमेरिकी सैन्य अभियानका बारे कुरा गरेका छन्।
'यदि उनीहरू लागूऔषध ओसारपसार विरुद्ध लड्न कुनै सम्झौताका बारेमा गम्भीरतापूर्वक कुरा गर्न चाहन्छन् भने, हामी तयार छौं,' बुधबार रेकर्ड गरिएको अन्तर्वार्तामा मदुरोले भनेका थिए।
तेलका बारेमा कुरा गर्न पनि तयार रहेको मदुरोले जनाएका छन्।
'यदि उनीहरूलाई भेनेजुएलाको तेल चाहिएको हो भने, अमेरिकी कम्पनी सेभ्रोनसँग गरिएको जस्तो अमेरिकी लगानीका लागि भेनेजुएला तयार छ। उनीहरूले जब चाहन्छन्, जहाँ चाहन्छन् र जसरी चाहन्छन्, हामी तयार छौँ,' उनले थपे।
अमेरिकाले विगत केहि महिनामा भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरेको छ।
अमेरिकी सेनाले सेप्टेम्बरदेखि क्यारिबियन क्षेत्रमा ३० भन्दा बढी लागूऔषध बोकेका शंकास्पद डुङ्गाहरूमाथि आक्रमण गरेको छ।
ती आक्रमणमा एक सय भन्दा बढी मानिसको मृत्यु भएको छ।
भेनेजुएलालाई विदेशी आतंकवादी संगठन भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल बोक्ने प्रतिबन्धित तेल ट्याङ्करहरूलाई नाकाबन्दी गर्न आदेश दिएका छन्।
त्यस कारणले पहिलेदेखि नै अर्थिक समस्या बेहोरिरहेको भेनेजुएलालाई झन् मुस्किल परेको छ।