बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका– १ कुसुम सौरीका ६३ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो पाटे बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए।
पूर्व-पश्चिम राजमार्गदेखि झन्डै २ किलोमिटरभित्र राष्ट्रिय निकुञ्जभित्र गाई वस्तु चराउन गएका भण्डारीलाई दिउँसो १ बजेतिर पाटे बाघले आक्रमण गरेको भन्दै प्रत्यक्षदर्शीले स्थानीय प्रहरीलाई खबर गरेका थिए।
सँगै गाईवस्तु चराउन गएका स्थानीय पिमलाल डाँगीका अनुसार राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगल क्षेत्रमा दिउँसो पाटे बाघले भण्डारीलाई एकाएक आक्रमण गरेको थियो। डाँगीले आफूलाई समेत उक्त बाघले आक्रमण गर्न खोजे पनि भागेर ज्यान जोगाउन सफल भएको बताएका छन्।
भण्डारीको शव दिउँसो साढे २ बजेतिर जंगलमा फेला परेको डिएसपी पातलीले बताए।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय समेत खोजीमा गएका थिए।
पोष्टमर्टमका लागि शव अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।