डोल्पामा प्रहरी चेकजाँचका क्रममा एक जना युवक भागेर बेपत्ता भएको विषयलाई लिएर तनाव उत्पन्न भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ३४ वर्षीय जुन रोकाय बेपत्ता भएका हुन्। शुक्रबार बेलुकी करिब ४ बजेतिर छेप्के पुलमा प्रहरीले जाँच गर्न खोज्दा रोकाय भागेका थिए। पछि उनले भेरी नदीमा हामफालेको स्थानीयको आरोप छ।
त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालय करोपगार्ड तोडफोड गरेका थिए। प्रहरीले भने भागेर ज्यान जोगाएका थिए।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन भइसकेको बताए। उक्त टोली घटनास्थलतिर जाँदैछ।
‘आक्रोशित स्थानीयको आक्रमणबाट आफू जोगिन तथा आफ्नो हतियार जोगाउन केही प्रहरी सुरक्षित स्थानमा थिए,’ कोइरालाले भने ‘आक्रमणमा संलग्न व्यक्तिहरू फर्किएपछि तथा अवस्था सामान्य भएपछि शनिबार राति नै ती प्रहरी सम्पर्ममा आइसकेका छन्।’
तीन जना प्रहरी सामान्य घाइते रहेको पनि उनले बताए।
घटना पछि इप्रका करोपगार्डका सबै प्रहरी जिल्लामा स्थान्तरण गरिएका छन्।
डोल्पाका प्रहरी प्रमुख डिएसपी रूकबहादुर खड्काले पुस १८ गते बेलुका ४ बजेतिर लागुऔषधको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा छेप्के पुलमा प्रहरी नियमित जाँचका लागि खटिएको थियो। प्रहरीलाई देखेपछि रोकाय आफै खोल्सा तिर भागेको डिएसपी खड्काले बताए।
प्रहरी देखेपछि युवक खोला तर्फ झरेर भागे पनि प्रहरी पच्छयाउँदै नगएको डिएसपी खड्काले दाबी गरे।
‘युवक लुकेर बसेको हुन सक्ने ठानेर प्रहरी फर्कि सकेपछि भागेका युवकले ठूली भेरी तर्न खोज्दा बगेको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘त्यो कुरा आफूले प्रत्यक्ष देखेको भनेर एक जना स्थानीय सात वर्षको बालकले बयान गरेका छन्।’