मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये सोमबार बिहानसम्म ४ जनाको पहिचान खुलेको हो।
तीमध्ये दुई जना नेपाली र दुई जना भारतीय नागरिक छन्।
डिएसपी बोगटीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ कान्ति राजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनिस कुमार र बेगुसराईका अन्जाजी ५० वर्षीय अरबिन्द कुमारको पहिचान भएको छ।
बाँकी दुई पुरूषको भने पहिचान खुल्न बाँकी छ।
उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।
आइतबार साँझ साढे ५ बजे जुरेखेतस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको थियो।
उक्त जिपमा ९ जना सवार थिए। उनीहरुको उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएकोमा बेलुकी सवा ७ बजे चिकित्सकले ६ जनालाई मृत घोषणा गरेको थियो।
जिपका चालक हेटौंडा-४ कर्राचोकका ४० वर्षीय गणेश थापा गम्भीर घाइते छन्। उनलाई गएराति नै थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको छ।
हेटौंडा-४ कमलडाँडा बस्ने सविता लम्सालकी छोरा १२ वर्षीय अभ्यास लम्साल पनि गम्भीर घाइते छन्। उनलाई पनि उपचारका लागि पुरानो मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-२ का २१ वर्षीया रिचा चौधरीको भने हेटौंडा अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।