अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्ष नपुगी बिना दरबन्दी गाविसमा नियुक्ति दिएको आरोपमा सचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सर्लाहीको तत्कालीन हरिपूर्व गाविस (अहिलेको-हरिपूर्वा नगरपालिका) सचिवसहित दुई जनाविरूद्ध अख्तियारले सोमबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
तत्कालीन गाविस सचिव रामप्रकाश सिंह दनुवारले २०६४ मै अरूणकुमार यादवलाई १८ वर्ष नपुगी गाविसमा स्थायी नियुक्ति दिएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अरूणकुमार यादव अहिले नगरपालिकाको सहायक पदमा कार्यरत छन्।
अख्तियारका प्रवक्ता न्यौपानेका अनुसार अरूणकुमार २०४७ असोज ५ गते जन्मिएको देखिन्छ। २०६४ मा १७ वर्ष पुगेका छन्। सोही उमेरमै सचिव रामप्रकाशले नक्कली कागजात बनाएर नियुक्ति दिएको देखियो।
कुनै पनि निकायमा नियुक्ति दिन/लिन १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानूनी प्रावधान छ। गैरकानुनी काम गरी सरकारी हानिनोक्सानी पुर्याएको आरोपमा उनीहरूलाई भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिए।