सञ्जाल बनाएर पिरामिड शैलीमा करोडौं रुपैयाँ ठगेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले एसएमसी एप्लिकेसनमार्फत हजारौं मानिसबाट करोडौं रकम ठगी भएकोबारे जानकारी दिएको हो।
ब्युरो प्रवक्ता एवं एसपी दीपकराज अवस्थीका अनुसार यस घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ।
उनका अनुसार एसएमसिएन एड्भरटाइजिङ सर्भिस सेन्टर प्रालिको नाममा खैरहनी नगरपालिका-७ चितवनमा कार्यालय खोलिएको थियो।
यसरी कम्पनीको उद्देश्य विज्ञापनसँग सम्बन्धित भएपनि विशुद्ध रूपमा ठगी गर्नका लागि नेटवर्क बनाएको एसपी अवस्थीले बताए।
त्यसका लागि उनीहरूले एसएमसी एप नै बनाएको अनुसन्धानमा खुलेको छ। जसमा ७० हजारभन्दा बढी नागरिक जोडिएका छन्।
यसरी जोडिएका व्यक्तिहरूलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा गरिएको दर्ताको प्रमाणपत्र र भौतिक कार्यालय समेत स्थापना गरेको देखाएर वैधताको झूटा विश्वास दिलाएको देखिएको छ।
विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्सल, वार्नर ब्रोज, डिज्नीसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाउने भनेर झुट्टो दाबी गरेको देखिन्छ।
यसरी विश्वासमा लिएर पिरामिड शैलीमा कमिसनको लोभ दिलाउने काम भएको एसपी अवस्थीले बताए।
‘सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाइएको थियो,’ उनले भने, ‘लेभल ए निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, लेभल बी निक्षेपमा ४ प्रतिशत कमिसन र दैनिक कामको २ प्रतिशत र लेभल सी निक्षेपमा १ प्रतिशत कमिसन र दैनिक कामको १ प्रतिशत आम्दानी हुने भनिएको थियो।’
यसरी पोन्जी स्किमको शैली अपनाएको पनि उनले बताए। यसको अर्थ कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने काम गरेको देखिएको हो।
साथै ब्ल्याक रक जस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशत सम्म प्रतिफल दिने भनेर ठगी गरेको देखिएको हो।
यस सञ्जालमार्फत २५५ जनाले आफू ठगीएको भनेर साइबर ब्युरोमा उजुरी दिएका छन्।
अहिलेसम्मको तथ्यांक अनुसार १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ठगी भएको देखिएको छ।
यसरी ठगी धन्दा चलाउनेमध्ये चिनियाँ नागरिक पनि छन्। काठमाडौं बस्दै आएका चिनियाँ नागरिक ही-जियाङजियाङ अहिले साइबर ब्युरोको हिरासतमा छन्।
उनीसँगै रामेछापका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका वीरबहादर तामाङ, चितवनका सोनम खातुन, काठमाडौंकी प्रिया केसी, गुल्मीकी मोनिका गुरूङ, धादिङकी गीता गुरुङ, पर्का नासिर मिया अन्सारी, सायरा खातुन र बाराका राम निवास प्रसाद पक्राउ परेका छन्।
उनीहरूलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी घटनाबारे सार्वजनिक गरेको हो।
ब्युरोले उनीहरूमाथि संगठित अपरध निवारण ऐन, २०७० र मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान अघि बढाएको छ।
ब्युरोले यस एपमार्फत ठगिएको भएमा प्रहरी कार्यालयमा उजुरी गर्न पनि अनुरोध गरेको छ। डिजिटल स्क्रिनसट, बैंक ट्रान्सफरका भौचर लगायत प्रमाणहरू पनि पेस गर्न अनुरोध गरेको हो।
त्यस्तै, कमिसनको लोभमा यस्ता पिरामिड शैलीको सञ्जालमा जोडिएको भएमा तुरून्तै हट्न पनि अनुरोध गरेको हो।
घरमै बसी भिडिओ हेरेर पैसा कमाउने, थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता कुनै पनि विज्ञापनमा विश्वास नगर्न पनि अनुरोध गरेको छ। अहिले एसएमसी एपलाई प्लेस्टोरबाट हटाइसकेको छ।