बर्दियाको राजापुर नगरपालिका–४ स्थित 'हमार थारू घर थारू रेस्टुरेन्ट' भित्र निरज चौधरीको गोली हानेर हत्या गरेको घटनामा प्रहरीले मुख्य अभियुक्तसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
१९ वर्षीय निरजको हत्या घटनाका प्रतिवादीमध्ये आमा–छोरासहित अर्का एक जना भने धरौटीमा छुटेका छन्।
आइतबार जिल्ला अदालत बर्दियाका न्यायाधीश डुल्लुराम चौधरीको इजलासले मुख्य अभियुक्त रेस्टुरेन्टका मालिक (७० प्रतिशत लगानीकर्ता) दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५० वर्षीय महावीर चौधरी र बर्दियाको राजापुर नगरपालिका–४ का रेस्टुरेन्टका (३० प्रतिशत लगानी) पार्टनर ५० वर्षीय बुद्धिप्रसाद थारूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
अदालतका तहसिलदार विष्णुचन्द्र नेपालीका अनुसार घटनाका पाँच प्रतिवादीमध्ये बुद्धिकी श्रीमती ४४ वर्षीया रामकुमारी थारू र उनीहरूका २२ वर्षीय छोरा राहुल थारू जनही डेढ–डेढ लाख रूपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन्।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका–५ का ५० वर्षीय गणेश चौधरी एक लाख रूपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन्।
गत मंसिर २१ गते बिहान साढे ८ बजेतिर दाङ तुलसीपुर उपमहानगरपालिका–१२ का निरजको कानको ठिकमुनि घाँटीमा गोली हानेर हत्या भएको थियो।
निरज लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको बर्दियाको राजापुरस्थित कृषि फार्ममा काम गर्थे। उनले फार्ममा असोजदेखि काम थालेका थिए। निरज नाताले उनका नाति पर्थे।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुरको आफ्नै जग्गामा रहेको कृषि फार्म महावीरले खोलेको रेस्टुरेन्टसँगै जोडिएको छ। महावीर डिल्लीबहादुरका सहोदर भाइ हुन्।
महावीरको मुख्य लगानी रहेको सो रेस्टुरेन्ट कात्तिक ३० गते उद्घाटन गरिएको थियो। रेस्टुरेन्ट खोलेको महिना दिन नपुग्दै निरजमाथि गोली प्रहार भएको थियो।
गोली प्रहारबाट निरज अचेत बनेपछि महावीरले आफ्ना पार्टनर बुद्धिप्रसादकी श्रीमती रामकुमारी र छोरा राहुललाई एम्बुलेन्स बोलाएर अस्पताल लैजान लगाएका थिए।
नजिककै बर्दिया जिल्ला अस्पताल भए पनि महावीरले निरजलाई टाढा बाँके, नेपालगन्जस्थित 'सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि' मा लैजान भनेका थिए।
महावीरले भनेजस्तै रामकुमारी र राहुलले निरजलाई नेपालगन्ज पुर्याएका थिए पुर्याउनासाथ चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए।
बर्दिया प्रहरीले यति बेलासम्म घटनाबारे कुनै जानकारी पाएको थिएन। अस्पतालका चिकित्सकले मृतकलाई गोली लागेको भनेपछि नेपालगन्जस्थित अस्पतालको ड्युटीमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई सूचना दिएका थिए।
त्यो सूचना बाँके प्रहरीले दिएपछि बर्दिया प्रहरीले बिहान साढे ८ बजेतिरको घटना भए पनि मध्याह्न १२ बजेतिर मात्रै थाहा पायो।
प्रहरीलाई खबरै नगरी अर्थात् घटना गुपचुप राखेर निरजलाई नेपालगन्ज पुर्याएको आरोपमा ४४ वर्षीया रामकुमारी र २२ वर्षीय राहुल प्रतिवादी बनाइएका हुन्।
राहुलले आफ्नो नाममा रहेको सु.प.प.०१–००९ प ४९१३ नम्बरको मोटरसाइकल र त्यसको कागजात महावीरलाई उपलब्ध गराई घटनास्थलबाट भगाउन सहयोग गरेको अभियोग पनि प्रहरीले लगाएको थियो।
त्यस्तै, महावीरका पार्टनर तथा रामकुमारीका श्रीमान बुद्धिप्रसादलाई भने घटनास्थलमा प्रमाण मेटाउन रगत खसेको ठाउँ पखालेको, खरानी हालेको र घटना गुपचुप राख्न सहयोगी भूमिका खेलेको भन्दै प्रहरीले प्रतिवादी बनाएको थियो।
प्रहरीले रामकुमारी र राहुललाई निरजको हत्या भएको साँझ नै नियन्त्रणमा लिएको थियो। मुख्य अभियुक्त महावीर भने राहुलको मोटरसाइकल चलाएर फरार थिए। उनी मंसिर २५ गते कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ मझरा गाउँस्थित कोही मानिस नबस्ने रित्तो घरमा सुतिरहेको अवस्थामा बिहान २ बजेतिर पक्राउ परेका थिए।
एक लाख रूपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका अन्दाजी ५० वर्षीय गणेश चौधरी कैलारी–५ का बासिन्दा हुन्।
उनको घर नजिकै खेतमा निरजको हत्यामा प्रयोग भएको पेस्तोल बरामद भएपछि हतियार लुकाउन तथा महावीरलाई जोगाउने भूमिकामा उनको पनि संलग्नता रहेको भन्दै प्रहरीले प्रतिवादी बनाएको थियो।
गणेश कहिले पक्राउ परेका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन। बर्दिया प्रहरीले मंसिर २६ गते पत्रकार सम्मेलनमार्फत कैलारी–५ त्रिवेणी डाँडास्थित रूइनोको झाडीमा हत्यामा प्रयोग भएको पेस्तोल डायरीभित्र राखी लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको सार्वजनिक गरेको थियो।
राहुलको मोटरसाइकल महावीरले कैलारी–५ बैजापुरमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको पनि सार्वजनिक गरेको थियो।
प्रहरीका अनुसार महावीर अमेरिकाका ग्रिनकार्ड होल्डर हुन्। पछिल्लो समय उनी बर्दियाको राजापुर नगरपालिका–७ भिमापुरमा कोठा भाडा लिएर बस्दै आएका थिए।
उनले प्रयोग गर्ने भारतीय नम्बर प्लेटको पी बी ३६ के ३३२५ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै डेराबाट उनको नामको नेपाली पासपोर्ट एउटा, भारतीय आधार कार्ड एउटा, भारतीय आयकर विभाग लेखिएको प्यान कार्ड एउटा, भारतीय सवारी दर्ता कार्ड एउटा, अमेरिकाको पिआर कार्ड एउटा लगायत सामान बरामद गरेको थियो।
निरजको हत्यामा प्रयोग भएको पेस्तोल महावीरले कैलालीका एक जना व्यक्तिबाट लिएको खुलेको छ। प्रहरीले उनको नाम गोप्य राखेको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
महावीर झन्डै दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आएका थिए। उनकी पूर्वपत्नी र सन्तान अमेरिकामै छन्।
पछिल्ला केही वर्षयता उनले अवैध मार्ग (डंकी रूट) हुँदै नेपालीलाई अमेरिका पठाउने आश्वासन दिएर धेरैसँग पैसा असुल्ने गरेको आरोप छ।
अमेरिका डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि उनले आप्रवासी तथा लुकीछिपी अवैध रूपमा अमेरिका छिर्नेहरूमाथि प्रतिबन्ध लगाएका थिए। यसले गर्दा महावीरले विभिन्न व्यक्तिहरूसँग उठाएको लाखौं रकम तिर्न सक्ने अवस्था भएन।
आफ्नो सामाजिक–आर्थिक वातावरण बिग्रिएपछि श्रीमतीले महावीरसँग सम्बन्ध विच्छेद गरेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन्।
निरज हत्याको मुख्य कारण पनि अमेरिका पठाउने आश्वासनमा भएको लेनदेन भएको यसअघि बर्दिया प्रहरीले अनुमान थियो। महावीरले निरजबाट पैसा लिएको र निरजले सो पैसा फिर्ता माग्दा आवेगमा आई गोली चलाएको आशंका प्रहरीको थियो।
तर अनुसन्धान र महावीरको बयान त्योभन्दा फरक पाइएको छ।
निरजको परिवार तुलसीपुरको टरिगाउँ विमानस्थल नजिकै सरकारी जग्गामा बस्दै आएको छ। आर्थिक अवस्था कमजोर भएकाले निरजलाई परिवारले डिल्लीबहादुरको फार्ममा काम गर्न पठाएको थियो। उनका आमाबुबा भारतमा काम गर्थे।
फार्ममा निरजलाई खान–बस्न समस्या थिएन। उनले तलब भने आमाको खातामा पठाउँथे। त्यसैले यसअघि प्रहरीले सार्वजनिक गरेको तथ्य मेल नखाएको पछिल्लो अनुसन्धानबाट खुलेको छ।
'निरजसँग पैसा थिएन र उसको परिवारको स्थिति पनि त्यो होइन। उनले अमेरिका जान लाखौं रूपैयाँ महावीरलाई दिएको भन्ने तथ्य कतै खुलेन,' स्रोतले भन्यो, 'निरजको हातमा कहिल्यै पाँच हजारभन्दा बढी पैसा भएको तथ्य कुनै पनि अनुसन्धानबाट खुल्दैन।'
निरजसँग महावीरको निकै राम्रो सम्बन्ध थियो। स्रोतका अनुसार हजुरबुबा–नाति पर्ने उनीहरू एउटै खाटमा सुत्थे।
पछि अमेरिका पठाउने नाममा धेरै आफन्त र मानिसहरूको पैसा हिनामिना गरेपछि महावीर बर्दियामा सुटुक्क डेरामा बस्न थाले। धेरैले महावीरलाई पैसा माग्दै धम्क्याउँथे। त्यसैले उनी विचलितजस्तै थिए।
यसबीच उनले केही आपराधिक पृष्ठभूमिका व्यक्तिसँग सम्बन्ध गाँसे। केही आफन्तलाई धम्क्याए।
त्यही समय आसपास महावीरले निरजलाई आफूसँग पेस्तोल भएको सुनाए। निरजले पेस्तोल हेर्ने चाहना राखे। महावीरले देखाए।
'निरजलाई पेस्तोलको यसरी सेफ्टी खोल्नुपर्छ र गोली चलाउनुपर्छ भनेर देखाउने क्रममा गोली घाँटीमा लाग्यो भन्ने बयान महावीरले दिएका छन्,' स्रोतले भन्यो, 'वकिलसँग पनि यही बयान गरेको भन्ने छ।'
घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भने महावीरले निकै सावधानी र चलाखीपूर्वक बयान दिएको तथा पटक पटक बयान फेरेको बताउँछन्।
जिल्लाका एक उच्च प्रहरी अधिकारीका अनुसार महावीर आफू एक महिलासँग बसेको कुरा दाजु डिल्लीबहादुरलाई भनिदिएको भनेर निरजसँग रिसाएका थिए। त्यही रिसमा पेस्तोल देखाउने बहानामा महावीरले योजनाबद्ध रूपमा निरजमाथि गोली प्रहार गरेको उनले बताए।
निरजका एक जना १४ वर्षीय भाइको केही वर्ष पहिले सर्पदंशबाट मृत्यु भएको थियो। चौधरी परिवारमा अब एक जना नाबालक छोरा र छोरी रहेको उनका अभिभावकले बताएका छन्।