दाङ, तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति लगायतमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय शेरबहादुर परियार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
उनलाई पुस १८ गते घोराही उपमहानगरपालिका–१ सिमलताराबाट पक्राउ गरिएको शाहले बताए।
जिल्ला अदालतबाट शेरबहादुरलाई सात दिन थुनामा राखी घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
उनीविरूद्ध अपमानजनक तथा अमानवीय व्यवहार शीर्षकमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
तुलसीपुर–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरको उपकुलपतिको निवासमा प्रवेश गरी पुस ६ गते बिहान साढे ८ बजेतिर अनियमितता गरेको आरोपमा कालोमोसो दल्ने, कुटपिट गर्ने जस्ता दुर्व्यवहार भएका थिए।
घटनाको जिम्मा विज्ञप्तिमार्फत नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले लिएको थियो।